बैंकक म्याराथनमा नेपाली भेट्रान धावक

बैंकक म्याराथनमा सहभागी हुन ५ भेट्रान खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक जाँदैछ ।
नोभेम्बर १९ तारिखमा हुने म्याराथनको ५० वर्षमाथि रामकृष्ण महर्जन र महेन्द्रमान महर्जन तथा ४० वर्षमाथि धर्म महर्जन र भीमबहादुर गुरुङले फुल म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् । हाफ म्याराथनको ६० वर्षमाथि पुष्पलाल श्रेष्ठ दौडने छन् ।
टिम व्यवस्थापकमा रजत श्रेष्ठ तथा प्रशिक्षकमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर छन् । टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी र डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।