बागमती प्रदेशको अर्थतन्त्र २४ खर्ब नाघ्ने अनुमान, राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा ३६.७ प्रतिशत योगदान

छहारी संवाददाता
जेष्ठ ६, २०८३

चालू आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन २२ खर्ब ५६ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको थियो । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार हेटौंडामा सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांकअनुसार राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान ३६ दशमलव ७ प्रतिशत रहने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा यो योगदान ३६ दशमलव ४ प्रतिशत रहेको थियो । तथ्यांकले देशकै अर्थतन्त्रको करिब एक तिहाइ हिस्सा बागमती प्रदेशले ओगटेको देखाएको छ । चालू आर्थिक वर्षमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

प्रदेशगत योगदानअनुसार कोशी प्रदेशले राष्ट्रिय अर्थतन्त्रमा १५ दशमलव ८ प्रतिशत अर्थात् करिब १० खर्ब रुपैयाँ योगदान गर्ने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशको योगदान ९ खर्ब ३७ अर्ब अर्थात् १४ दशमलव २ प्रतिशत, मधेश प्रदेशको ८ खर्ब ४३ अर्ब अर्थात् १३ दशमलव १ प्रतिशत, गण्डकी प्रदेशको ५ खर्ब ९३ अर्ब तथा सुदूरपश्चिम प्रदेशको ४ खर्ब ६४ अर्ब रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।

सबैभन्दा कम योगदान कर्णाली प्रदेशको रहने अनुमान गरिएको छ । कर्णलीमा जहाँ २ खर्ब ७७ अर्ब रुपैयाँ अर्थात् ४ दशमलव २ प्रतिशत योगदान रहने तथ्यांकमा उल्लेख छ ।

स्थिर मूल्यमा मापन गरिएको प्रदेशगत कुल गार्हस्थ्य उत्पादन वृद्धिदरमध्ये सबैभन्दा उच्च वृद्धि बागमती प्रदेशमा देखिएको छ । चालू आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धिदर ५ दशमलव ४० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक कृषिराम सिग्देलले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा यो वृद्धिदर ५ दशमलव २९ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । औद्योगिक वर्गीकरणअनुसार बागमती बाहेक अन्य सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा बढी रहेको छ । तर बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा उच्च देखिएको छ ।

चालू आर्थिक वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा व्यापार सेवाको हिस्सा २१ दशमलव ७१ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसैगरी पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको योगदान सबैभन्दा कम, ० दशमलव २६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका सबै आर्थिक क्रियाकलापको कुल मूल्य अभिवृद्धि धनात्मक रहने अनुमान गरिएको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा २२ दशमलव ८८ प्रतिशत रहने अनुमान गरिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा सबैभन्दा कम, ० दशमलव ६१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा खानी तथा उत्खनन क्षेत्रको वृद्धि सबैभन्दा न्यून रहेको संशोधित अनुमान छ । प्रदेशमा विद्युत् उत्पादन तथा उपभोग दुवै बढेको देखिएको छ ।

साथै यातायात तथा भण्डारण, वित्तीय संस्थामा बचत तथा कर्जा प्रवाह, बीमा प्रिमियम र घरजग्गा कारोबारमा वृद्धि भएको तथ्यांकले देखाएको छ ।

सरकारी खर्च न्यून हुँदा सार्वजनिक सेवा तथा रक्षा क्षेत्रमा भने न्यून वृद्धि भएको अनुमान गरिएको छ । प्रतिवेदनअनुसार बागमती प्रदेशबासीको प्रतिव्यक्ति आय २ हजार ६ सय ४४ अमेरिकी डलर रहने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रादेशिक लेखा अनुमान आर्थिक वर्षको पहिलो ६ देखि ८ महिनासम्म उपलब्ध आँकडा तथा सूचनाको आधारमा बाँकी अवधिमा आर्थिक गतिविधि सामान्य रहने अपेक्षासहित तथ्यांकिय विधिबाट तयार गरिने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

मकवानपुरस्थित तथ्यांक कार्यालयका प्रमुख देवेन्द्रलाल कारञ्जित को अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव दिपेन्द्र कुमार झा प्रमुख अतिथि रहनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*