खुला दौड प्रतियोगितामा पुरुषतर्फ हेम्जन र महिलातर्फ लोप्चन प्रथम

छहारी संवाददाता
फाल्गुन २९, २०८२

हेटौंडामा सञ्चालित बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत पहिलो दिन जिल्लास्तरीय महिला तथा पुरुष १० किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार बिहान हेटौंडामा १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फ राक्सिराङ १ का सुवास हेमजन प्रथम भएका छन् ।

अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै हेमजनले प्रथम स्थान हाँसिल गरेका हुन् । दौडमा मनहरी ८ का सन्दिप विक द्वितीय र बकैया ८ का राजकुमार गोले तृतीय भए ।

यस्तै महिलातर्फ हेटौंडा १३ की साधना लोप्चन प्रथम भइन् । उनले अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै महिला दौडको उपाधि जितेकी हुन् । महिलातर्फ हेटौंडा १३ कै अमृता मोक्तान द्वितीय, हेटौंडा ४ की सुविना गोले तृतीय र राक्सिराङ १ की निलिमा थिङ सान्त्वना भइन् ।

दुवैतर्फको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २० हजार, १० हजार, ५ हजार र एकहजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलकुद महोत्सव भएको हो ।

महोत्सव अन्तर्गत विभिन्न ६ वटा विधामा खेलकुद प्रतियोगिता हुनेछ । दौडमा इच्छा भएका खेलाडीहरुको पहिचानसहित खेल क्षेत्रको विकासका निम्ति जिल्लास्तरीय महिला तथा पुरुष दौडको आयोजना गरिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिनुभयो  । शुक्रबारबाट नै जिल्लास्तरीय डबल्स ब्याड्मिन्टन प्रतियोगिता समेत सुरु भएको छ ।

हेटौंडा ११ थानाभर्याङस्थित कभर्ड हलमा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् खेलकुदप्रेमी अरुणराज सुमार्गीले ब्याड्मिन्टन प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

ब्याड्मिन्टन प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुर खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*