हेटौंडामा पाँचदिने निःशुल्क वृहत् योग विज्ञान शिविर हुने

छहारी संवाददाता
बैशाख ३०, २०८३

हेटौंडामा पाँचदिने निःशुल्क वृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ।

पतञ्जली योग समिति अन्तर्गत महिला पतञ्जली योग समिति मकवानपुरको आयोजनामा हेटौंडामा पाँचदिने निःशुल्क वृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको हो ।

शिविर यही जेठ ३ गतेदेखि ७ गतेसम्म हेटौंडा–४ स्थित लोकतान्त्रिक चौर (हुप्राचौर) मा प्रत्येक बिहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा रामकृष्ण थापाले शिविरबारे जानकारी दिँदै आधुनिक जीवनशैली, तनाव र अव्यवस्थित खानपानका कारण नसर्ने रोग तीव्र रूपमा बढिरहेको अवस्थामा योगलाई जनस्तरसम्म पुर्‍याउन शिविर आयोजना गरिएको बताए।

उनले “घरघरमा योग, जनजनमा योग, सबै निरोग, सदा निरोग” भन्ने मूल नारासहित पतञ्जली योग समिति विगत २०६४ सालदेखि मकवानपुरका विभिन्न पालिकामा निःशुल्क योग अभियान सञ्चालन गर्दै आएको जानकारी दिए।

शिविरमा मुख्य प्रशिक्षकका रूपमा साद्वी देवादिति रहनेछिन्। हरिद्वारस्थित पतञ्जलि योगपीठबाट सन्यास ग्रहण गरेकी देवादितिले योग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आध्यात्मिक शिक्षामा विशेष दक्षता हासिल गरेकी छन्।

आयोजकका अनुसार उनले योगमार्फत स्वस्थ जीवनशैली, मानसिक शान्ति र सकारात्मक सोच विकासका विषयमा प्रशिक्षण दिनेछिन्।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालय को सहकार्यमा सञ्चालन हुन लागेको हो। साथै सह–प्रायोजकका रूपमा थर्डआइ एजुकेशनल सेन्टर प्रालि ले सहयोग गरेको जनाइएको छ।

आयोजकले योगलाई केवल शारीरिक अभ्यास नभई पूर्ण जीवन पद्धति, मानसिक अनुशासन र सकारात्मक जीवन दर्शनका रूपमा लिन आग्रह गरेका छन्। पछिल्लो समय मधुमेह, उच्च रक्तचाप, मोटोपन, तनावलगायत नसर्ने रोग बढ्दै गइरहेका बेला योग, ध्यान र प्राणायाम प्रभावकारी विकल्प बन्दै गएको उनीहरूको भनाइ छ।

शिविरमा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, व्यवसायी, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई उत्साहपूर्वक सहभागी भई स्वास्थ्य लाभ लिन आयोजकले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*