मकवानपुरको खेलकुद महोत्सवमा जिल्लास्तरीय भलिबल सुरु

छहारी संवाददाता
चैत्र १, २०८२

हेटौंडा–१०, स्थित टिसीएन चौरमा मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी दोस्रो वृहत् खेलकुद,कृषि तथा पर्यटन महोत्सवमा मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

मकवानपुर जिल्ला भलिबल संघको सहकार्यमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लब र हेटौंडा–१५,स्थित सफल केयर क्लबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा मकवानपुर जिल्लाभरबाट ८ वटा टिमको सहभागिता रहेको आयोजक समितिका नरेन्द्र मोक्तानले बताए । क्वार्टरफाइनल सम्मको खेल बेष्ट अफ ३ मा हुने र सेमीफाइनको खेल बेष्ट अफ ५ मा हुने उनले बताए ।

प्रतियोगितामा थाहा-२,स्थित मङ्गलेश्वर युवा, हेटौडा-११,स्थित छहारी युवा क्लब,मनहरी गाउँपालिका, हेटौंडा-९,स्थित पशुपति युवा क्लब, बागमती गाउँपालिका थाहा-६,स्थित नव प्रतिभा सांस्कृतिक युवा क्लब बज्रबाराही, हेटौँडा-१५,स्थित सफल केयर क्लब, हेटौंडा-३,स्थित मिलन युवा क्लब र थाहा-२,स्थित मङ्गलेश्वर युवा क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पराजित हुने दुई टिमले १५/१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगितामा ७ वटा विधाका खेलाडीहरुलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक र उद्यान खेलाडीलाई २/२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ ।

राष्ट्रिय महिला भलिबल प्रतियोगिता भने चैत ४ गतेबाट सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*