ऐतिहासिक ढुङ्गेगढीमा नेपाली सेनाद्वारा ढुङ्गेधारा निर्माण
नेपाली सेनाले शीघ्र प्रभावी आयोजना (QIPs) अन्तर्गत मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक तथा पर्यटकीय स्थल ढुङ्गेगढीमा निर्माण गरेको खानेपानी संरचना गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
श्री गोरख बहादुर गण सुपारीटारद्वारा निर्माण सम्पन्न गरिएको पाँच हजार लिटर क्षमताको पानी ट्यांकीसहितको ढुङ्गेधारा सोमबार एक कार्यक्रमबीच मध्य पृतना मुख्यालयका पृतनापति उपरथी विष्णुकुमार खड्काले मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामालाई हस्तान्तरण गर्नुभयो ।

ढुङ्गेगढीको ऐतिहासिक महत्वलाई उजागर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय समुदायको आवश्यकता सम्बोधन तथा सैनिक–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त आयोजना सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।
ढुङ्गेगढी भ्रमणमा आउने पर्यटक, नजिकै रहेको काली मन्दिरका श्रद्धालु भक्तजन तथा स्थानीय बासिन्दालाई खानेपानी उपलब्ध गराउन संरचनाले सहयोग पुग्ने श्री गोरख बहादुर गणका गणपति प्रमुख सेनानी रविन्द्र श्रेष्ठले बताउनुभयो ।
यस प्रकारका आयोजनाले नेपाली सेना र स्थानीय समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास थियो ।

हस्तान्तरण कार्यक्रममा नं. ७ बाहिनी अड्डुका बाहिनीपति सहायक रथी विक्रम गुरुङ, वडा नं. २ का अध्यक्ष बखानसिंह पाख्रिन, नं. ७ बाहिनी अड्डुका प्रमुख सेनानी झलक लामा, सशस्त्र प्रहरी बल नं. १४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निवनकुमार खड्का, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी निरीक्षक धर्मेश कुमार यादव, ढुङ्गेगढी टोल विकास समितिका अध्यक्ष सुधारजित गोले, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण शर्मा अधिकारीलगायत स्थानीय बुद्धिजीवी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।







