मध्यपृतना ट्रफी–२०८३’ सुरु
मध्यपृतना हेडक्वार्टर, सुपारीटार (हेटौँडा)को आयोजनामा सोमबारदेखि ‘मध्यपृतना ट्रफी–२०८३’ सुरु भएको छ ।
वैशाख २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मध्यपृतना हेडक्वार्टरका पृतनापति उपरथि विष्णुबहादुर खड्काले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
प्रतियोगिता उद्घाटनसँगै सुरु भएको फुटबलतर्फको पहिलो खेलमा गोरखबहादुर गण विजयी भएको छ । हेटौँडास्थित सुपारीटार ब्यारेकको खेलमैदानमा सम्पन्न खेलमा गोरखबहादुर गण मकवानपुरले भैरवगण धादिङलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
प्रतियोगिता अन्तर्गत भोली शेर गण र नयाँ सबुज गणबीच प्रतिस्पर्धा हुने तालिका छ । प्रतियोगितामा सामूहिक विधातर्फ फुटबल, भलिबल, बास्केटबल तथा एकल विधातर्फ एथलेटिक्स स्वीमिङ, बक्सिङ र जुडो गरि आठ खेलमा प्रतिस्पर्धा हुनेछ ।
खेल तालिका अनुसार स्विमिङ र बक्सिङ श्री मध्यपृतना हेडक्वार्टर हेटौंडामौ हुनेछ भने बास्केटबल श्री नं. ६ बाहिनी अड्डा अन्तर्गत शेर गण (नुवाकोट) मा, भलिबल भैरव गण (धादिङ) मा सञ्चालन हुनेछ ।
त्यस्तै, श्री नं. ७ बाहिनी अड्डा अन्तर्गत नयाँ सबुज गण (चितवन)मा तेक्वान्दो र जुडो तथा एथलेटिक्स र फुटबल गोरखबहादुर गण, सुपारीटार ब्यारेक (मकवानपुर) मा हुनेछन् ।
प्रतियोगितामा ६ नम्बर बाहिनी र ७ नम्बर बाहिनी अड्डा अन्तर्गतका विभिन्न युुनिटका एक सय महिला सहित ५ सय ५० जना खेलाडी सहभागी छन् । प्रतियोगितामा ४ सय ७१ वटा पदकका लागि प्रतिस्पर्धा हुने जनाइएको छ ।
समापनको दिन वैशाख २८ गते सुपारीटार ब्यारेकको खेलमैदानमा फुटबलको फाइनल खेल आयोजना गरिने छ । समापन समारोहमा विजेता खेलाडी तथा टोलीलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिने कार्यक्रम रहेको छ । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरुले प्रधानसेनापति ट्रफीमा सहभागिता जनाउनेछन् ।







