चेपाङ पहिचान संरक्षण गर्दै स्थानीय तह पुनर्संरचनाको माग

छहारी संवाददाता
बैशाख १६, २०८३

चेपाङ समुदायको पहिचान संरक्षण हुनेगरी स्थानीय तह पुनर्संरचना गर्नुपर्ने माग गर्दै नेपाल चेपाङ संघ केन्द्रीय कार्यकारिणी समितिले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका संघका प्रतिनिधिहरूले चेपाङ बसोबास रहेका क्षेत्रलाई समेटेर नयाँ स्थानीय तह गठन गर्नुपर्ने तथा ती पालिकाहरूको नामकरण चेपाङ भाषामा गर्नुपर्ने माग अघि सारेका हुन् ।

संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, महासचिव सन्तबहादुर चेपाङसहितको टोलीले ध्यानाकर्षण पत्रमार्फत चेपाङ बाहुल्य रहेको चितवन, धादिङ र मकवानपुर जिल्लाका वडाहरू समेटेर छुट्टाछुट्टै गाउँपालिका गठन गर्न प्रस्ताव गरेका छन् ।

प्रस्तावअनुसार चितवनको इच्छाकामना गाउँपालिका–१ र २ नम्बर वडा, कालिका नगरपालिकाका वडा नम्बर १० र ११ तथा राप्ती नगरपालिकाका वडा नम्बर १०, ११, १२ र १३ लाई समेटेर “झोरालाङ गाउँपालिका” बनाउन माग गरिएको छ ।

त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, २, ६, ८, ९ र १० तथा गजुरी गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई समेटेर “रोराङ गाउँपालिका” बनाउन संघले आग्रह गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका अन्य गाउँपालिका वा नगरपालिकामा गाभिने अवस्था आएमा हालको चेपाङ भाषामा रहेको नाम यथावत राख्नुपर्ने माग पनि गरिएको छ । यसका साथै नेपालको संविधान २०७२ को धारा ५६ को उपधारा (५) बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लाका चेपाङ बाहुल्य क्षेत्रमा “चेपाङ संरक्षित क्षेत्र” घोषणा गर्नुपर्ने माग राखिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले चेपाङ समुदायको विशेष पर्वका अवसरमा बिदा दिँदै आएको उल्लेख गर्नुभयो । स्थानीय तहसँग समन्वय गरेर समुदायको हितमा प्रदेश सरकारले आवश्यक काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

२०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको कुल जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ । यसमध्ये करिब ८० प्रतिशत बागमती प्रदेशमा बसोबास गर्छन् । मकवानपुर जिल्लामा १९ हजार २ सय ३३ जना चेपाङको बसोबास रहेको तथ्यांक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*