१९ वर्षमुनिको एसिया कप क्रिकेटको छनौट खेलमा नेपालको सुखद सुरुवात

१९ वर्षमुनिको एसिया कप क्रिकेटको छनौट (पूर्वी क्षेत्र) अन्तर्गत को खेलमा नेपालले सुखद सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले हराउदै सानदार जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । २ सय ८२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको थाइल्याण्डले १० ओभरमा २६ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
नेपालका लागि सन्दिप लामिछानेले सात विकेट लिए भने नन्दन यादव, किशोर महतो र शहाब आलमले एक एक विकेट लिए । थाइल्याण्डका ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका अनिलकुमार साहले ७४ बलमा पाँच छक्का र ६ चौकाको मद्दतमा ९१ रन बनाए भने प्रनित थापा मगरले ६१ बलमा एक छक्का र तीन चौकाको मद्दतमा ५० रनको योगदान गरे ।
त्यस्तै सन्दिप सुनार ५७ बलमा ३२, रोहितकुमार पौडेल ३० बलमा २८, कप्तान दिपेन्द्रसिंह ऐरीले ३२ बलमा २२ र आशिफ शेख २६ बलमा २१ रन बनाए । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्कासहित नटआउट २२ रन बनाएका हुन् ।
मलेसियामा भइरहेको प्रतियोगितामा नेपालसहित समूह ‘ए’ मा सिंगापुर, थाइल्याण्ड र भुटान तथा समूह ‘बी’ मा चीन, हङकङ, मलेसिया र म्यानमार छन् ।
हरेक समूहको शीर्ष दुईमा रहने टिम छनौटको सेमिफाइनलमा पुग्ने छन् ।
फाइनलमा पुग्ने दुई टिम १९ वर्षमुनिको एसिया कपका लागि छनौट हुने भएकाले नेपालका लागि थाइल्याण्माथिको जित महत्वपूर्ण छ ।
अब नेपालले बुधबार भुटानसँग खेल्ने छ । यस्तै बिहीबार सिंगापुर र नेपालबिच खेल हुनेछ ।