युवा तथा खेलकुद मन्त्री केसीद्धारा हिटिङ स्विमिङ पुलको सिलान्यास

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले हिटिङ स्विमिङ पुलको शुक्रबार सिलान्यासगर्नु भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको पौडी पोखरीको दक्षिण पट्टि रहेको खाली ठाउँमा निर्माण गर्न लागिएको हिटिङ पुलको मन्त्री केसीले सिलान्यास गर्नु भएको हो ।
दस लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौढाईंको हुनेछ । ३३ करोड ५४ लाख ६३ हजार ९ सय १३ रुपैयाँ लागत अनुमान गरिएको पुल हातामा तीन वटा मुख्य ब्लक रहनेछन् । त्यसमा कार्यालय, खेलाडी र पुल ब्लक रहनेछ ।
कार्यालय ब्लकमा १ सय दर्शक क्षमताको प्याराफिट र कार्यालय कोठा तथा खेलाडी ब्लकमा जिम हल, क्याफ्टेरिया र खेलाडीको च्यान्जिङ कक्ष बनाइनेछ । त्यस्तै पुल ब्लकमा पुल, ब्लान्सिङ ट्याङ्ग लगायत निर्माण गरिने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले हाम्रो जस्तो बजेटको आकार सानो भएको मुलुकले करिब ३४ करोड लगानीमा पुल निर्माण गर्नु ठूलो कुरा भएको बताउदै पुलको गुणस्तर र समयसीमामा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले पुन निर्माणको कार्य प्रगति बारे समय–समयमा मन्त्रालयलाई जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र पौडी संघलाई निर्देशन समेत दिनु भएको छ ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पुल निर्माणका लागि राखेपले सरकार मार्फत ८० र पौडी संघले २० प्रतिशत रकम खर्च गर्ने संघसंग सम्झौता भएको बताउदै संघको २५/३० वर्षदेखिको अभियानले गति लिन थालेको धारणा व्यक्त गर्नुभयो। उहाँले सन् २०१९ को फेब्रुअरीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले पूर्वाधारका कारण दक्षिण एसियाली खेलकुद नरोकिने बताउदै अन्य पूर्वाधारहरु पूरा हुने क्रममा र केहि बन्ने क्रममा रहेको बताउनु भएको छ ।
पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले हिटिङ पुलको निर्माणले खेलाडीले बाह्रै महिना प्रशिक्षण गर्न पाउने भएकाले खेलाडीको स्तरवृद्धिमा अझ सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँलृ अन्तर्राष्ट्रिय निकायबाट पनि २५ बाई २५ मिटरको पुलमा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सकिने आश्वासन प्राप्त भएको जानकारी गराउदै पौडी संघको वर्षौंदेखिको सपना साकार हुन लागेको बताउनुभयो ।