निशान, अजित र भुवनको कीर्तिमान

नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको दोश्रो दिन शुक्रबार तीन नयाँ विद्यालयस्तरको कीर्तिमान कायम भएको छ । तीनै कीर्तिमान छात्रतर्फ सम्भव भए । पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका अजितकुमार यादवले ३ हजार मिटर दौड र मध्यमाञ्चलकै भुवन महतोले लङजम्पमा कीर्तिमान रचे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशान गुरुङले १५.०१ मिटर टाढा फाल्दै गत संस्करणमा मध्यपश्चिमाञ्चलका तिलक नेपालीले बनाएको १४.५४ मिटरको कीर्तिमान तोडे । प्रतियोगिताको पहिलो दिन शनिबार १ हजार ५ सय मिटर दौडमा पनि कीर्तिमान रचेका अजितले ३ हजार मिटर दूरी ८ मिनेट ५६.१७ सेकेन्डमा पूरा गर्दै गत संस्करणमा आफैले स्थापित गरेको ९ मिनेट १४.५ सेकेन्डको कीर्तिमानमा सुधार गरे । त्यस्तै भुवन महतोले ६.५३ मिटर जम्प लगाउदै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए । उक्त कीर्तिमान २०४४ सालमा तत्कालीन वीरेन्द्र सिल्ड प्रतियोगितामा धनवीर चौधरीको नाममा थियो । त्यसबेला धनीवरले ६.४१ मिटरको कीर्तिमान बनाएका थिए ।
छात्रा सटपुरमा पश्चिमाञ्चलकी अस्मिता शेर्पाली पहिलो भइन् । अस्मिताले ८.९० मिटर फालिन् । छात्रा ३ हजार मिटर दौडमा राममाया बुढा पहिलो भइन् । निर्धारित दूरी राममायाले ११ मिनेट २३.९ सेकेन्डमा सिध्याइन् । छात्रा लङजम्पमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु पहिलो भइन् । जयरानीले ४.७२ मिटर हामफालिन् ।
छात्र ८ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवार पहिलो भए । उनले २ मिनेट ००.६७ सेकेन्डमा दौड सकाए । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी सुष्मा सिंहले निर्धारित दूरी २ मिनेट ३४.८८ सेकेन्डमा पूरा गर्दै शीर्ष स्थान कब्जा गरिन् ।
छात्र १ सय मिटर दौडमा मध्यचमाञ्चलका आशिष खत्री पहिलो भए । उनले ११.०५ सेकेन्ड समय खर्चे । त्यसै स्पर्धाको छात्रामा १३.४९ सेकेन्डमा दूरी तय गरेकी मध्यमाञ्चलकै लुजःला अमात्य पहिलो भइन् । छात्रा २ सय मिटर दौड पनि आशिष पहिलो भए । उनले २३.२९ सेकेन्ड समय लगाए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको ४ गुणा ४ सय मिटर रिलेको छात्रमा मध्यमाञ्चल पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो र पश्चिमाञ्चल तेश्रो भए । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चल पहिलो, मध्यमाञ्चल दोश्रो र पूर्वाञ्चल तेश्रो बने ।
कराते ः पश्चिमाञ्चल च्याम्पियन
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको करातेमा पश्चिमाञ्चल टिम च्याम्पियन बनेको छ । पश्चिमाञ्चलले ४ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ४ कांस्यसाथ मध्यमाञ्चल दोश्रो भयो । तेश्रो स्थानको सुदूरपश्चिमाञ्चलले १ स्वर्ण र २ कांस्य जित्यो ।
करातेको अन्तिम दिन छात्रा ४५ केजीमा पश्चिमाञ्चलकी मोनु तामाङ, छात्र ५२ केजीमा पश्चिमाञ्चलका अंकित गुरुङ, छात्र एकल कातामा पश्चिमाञ्चलका बुद्ध लामा, छात्रा एकल कातामा पश्चिमाञ्चलकी रश्मि पाण्डे तथा छात्रा ५० केजीमा सुदूरपश्चिमाञ्चलकी लक्ष्मी विष्टले स्वर्ण जिते ।