दादुरा/ रुबेला नियन्त्रण खोप अभियान सुरु

मकवानपुरका ४४ स्वास्थ्य संस्था मार्फत ४३ हजार ३०३ बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइ ९५ प्रतिशत लक्ष्य हासिल गर्ने अभियान सुरु गर्ने भएको छ ।
दादुरा-रुवेला खोप अभियान २०७६७७ अन्तर्गत दुई चरणमा सञ्चालन हुने खोप अभियानमा पूर्ण खोप ७२ प्रतिशत बाट बढ़ायर ९५ प्रतिशत बालबालिकालाई लगाईने योजना सहित कार्यक्रम चैतको पहिलो दिनदेखि सुरु गरिने भयको हो ।
जिल्लामा आंशिक खोप मात्र लगाउने बालबालिकाको संख्या २१ प्रतिशत र खोप बाट बन्चित १ प्रतिशत रहेका जानकारी गराउदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले अबको चरणमा स्थानीय तहलाई समेत समेटेर खोप लगाइने आज सम्पन्न पत्रकार अन्तरक्रियामा जानकारी गराउनुभएको छ ।
विश्वमा दादुरा-रुवेलाको अवस्था र नेपालमा विगत दुई वर्ष अघि र अहिलेको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै कार्यालयका प्रमुख उपाध्यायले सन् २०२०मा दादुरा खोप अभियानलाई तिव्रता दिन पहिलो चरणमा बकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, बागमती गाउँपालिकामा चैत्र १ गते देखि ११ गते सम्ममा अभियान सम्पन्न गर्ने जानकारी गराउनुभयो ।
त्यस्तै अभियानको दोस्रो चरणमा भने भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, थाहानगरपालिका र हेटौंडा उपमहानगरमा ११ गतेबाट २३ गते सम्ममा सबै अभियान सञ्चालन हुने जनाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार मकवानपुरमा ९ देखि २४ महिनाको बालबालिकाको संख्या १२ हजार ९८ र २४ देखि ५९ महिनाको संख्या ३१ हजार २०५ जना गरि ४३ हजार ३०३ बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउनु पर्ने रहेको छ । मकवानपुरमा एक हजार १७८ जना खोप कार्यकर्ता खटाएर ५ सय ४१ स्थानमा खोपकेन्द्रबाट खोप लगाइने प्रमुख उपाध्यायले बताउनुभयो ।
जिल्ला स्तरीय खोप समन्वय समिति मकवानपुरका संयोजक तथा जिसस प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, जिसस उपप्रमुख भगवती पुडासैनी, बागमती प्रदेश पत्रकार महासंघ अध्यक्ष प्रताप बिस्ट, जिल्ला अध्यक्ष हरि हुमागाई लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।