मकवानपुरका अधिकांश निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालनमा

छहारी संवाददाता
चैत्र २५, २०८२

मकवानपुरमा सञ्चालनमा रहेका अधिकांश निजी स्वास्थ्य संस्था न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालन भइरहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा गरिएको अनुगमनका क्रममा अस्पताल, पोलिक्लिनिक तथा फार्मेसीहरूले आधारभूत मापदण्ड बेवास्ता गर्दै सेवा दिइरहेको भेटिएको हो ।
मंगलबार गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, औषधि व्यवस्था विभाग पर्सा, स्वास्थ्य मन्त्रालय बागमती प्रदेश र हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । टोलीले जिल्लाका तीन वटा अस्पताल, एक पोलिक्लिनिक र दुई वटा फार्मेसीको निरीक्षण गरेको थियो ।
बाह्य रूपमा व्यवस्थित देखिने अस्पतालभित्र आधारभूत मापदण्ड पालना नभएको पाइएको हो । सञ्चो अस्पतालले नवीकरण नगरी नै सेवा सञ्चालन गरिरहेको भेटिएको छ ।
नवीकरण प्रक्रिया अघि बढाएको दाबी गरिए पनि हालसम्म नवीकरण नभएको जनाइएको छ । साथै, उक्त अस्पतालको इमर्जेन्सी सेवामा अत्यावश्यक औषधिसमेत अभाव रहेको र म्याद नाघेका औषधि सुरक्षित रूपमा व्यवस्थापन नगरिएको पाइएको छ ।
त्यसैगरी, २५ शैयाको अनुमति प्राप्त मकवानपुर सहकारी अस्पतालले अनुमति भन्दा बढी शैया सञ्चालन गरिरहेको भेटिएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई तोकिएको भन्दा कम पारिश्रमिकमा राखिएको तथा अस्पताल परिसरमै अन्य व्यक्तिबाट फार्मेसी सञ्चालन भइरहेकोसमेत पाइएको छ ।
हेटौँडा सिटी अस्पतालमा फार्मासिस्ट विना फार्मेसी सञ्चालन गरिएको भेटिएपछि फार्मेसी बन्द गराइएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका जनस्वास्थ्य प्रशासक किरण श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, रामजानकी मेडिकल हलले एलोपेथिक औषधि बिक्रीको अनुमति लिए पनि आयुर्वेदिक औषधि, कस्मेटिक तथा अन्य उपभोक्ता सामग्रीसमेत बिक्री गरिरहेको पाइएपछि जफत गरिएको छ ।
अनुगमनका क्रममा अधिकांश निजी अस्पतालहरूले १० प्रतिशत निःशुल्क शय्या व्यवस्था नगरेको, सामाजिक सेवा इकाइ स्थापना नगरेको तथा म्याद नाघेका औषधिको सुरक्षित व्यवस्थापन नगरेको पाइएको छ ।
यसैगरी, मकवानपुर पोलिक्लिनिकले अनुमति लिँदा प्रतिबद्धता जनाएका सेवाहरू उपलब्ध नगराएको र नागरिक बडापत्रसमेत नराखेको भेटिएको छ ।
अनुगमन टोलीले सबै संस्थालाई ७ दिनभित्र आवश्यक सुधार गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र सुधार नगरे कानुनी कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत आशा बहादुर लामाले बताउनुभयो ।
मंगलबार मकवानपुर सहकारी अस्पताल, सञ्चो अस्पताल, हेटौँडा सिटी अस्पताल, मकवानपुर पोलिक्लिनिक, सक्षम फार्मेसी र रामजानकी मेडिकल हल गरी ६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*