ग्रीन एण्ड क्लिन सिटीका ५३ जना कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध

छहारी संवाददाता
भदौ १२, २०८२

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फोहोरमैला संकलन र व्यवस्थापनमा खटिने कर्मचारीहरूलाई पहिलो पटक सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ ।

हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रा।लिले यस कार्यमा संलग्न ५३ जना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा सफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई कोषमा समावेश गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले फोहोरमैला संकलन गर्ने काम कठिन र जोखिमपूर्ण हुने भएकाले कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्नु उपमहानगरको दायित्व भएको बताउनुभयो । उहाँले स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिदै सुरक्षाका उपायहरू अपनाएर मात्रै कार्यमा खटिन सफाई कर्मचारीलाई सुझाव दिनुभयो ।

फोहोरमैला व्यवस्थापन संघका सल्लाहकार प्राध्यापक डा। आशिष खनालले सफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई शतप्रतिशत सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको पहिलो पटक भएको बताउनुभयो । उहाँले देशभर करिब ७० भन्दा बढी संस्था यस क्षेत्रमा सक्रिय भए पनि सम्पूर्ण कर्मचारीलाई एकैपटक कोषमा आवद्ध गराइएको यो पहिलो भएको दाबी गर्नुभयो । साथै उहाँले फोहोरमैला व्यवस्थापन ऐन संशोधन गरी केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रा।लि।का अध्यक्ष नवराज खतिवडाले सामाजिक सुरक्षा कोषमा आवद्धताले कर्मचारीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिएर आगामी दिनमा निःशुल्क स्वास्थ्य बीमा गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो । साथै हेटौंडाको फोहोर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन भैरवडाँडामा २१ कठ्ठा जग्गा भाडामा लिएर कम्पोष्ट प्लान सञ्चालनको तयारी गरिनुका साथै हेटौंडा–१ चौकीटोलमा वेस्ट डेमो सेन्टर निर्माण गर्न ५ कठ्ठा जमिन भाडामा लिइएको जानकारी दिनुभयो ।

ग्रीन एण्ड क्लिन सिटीले २०६२ सालदेखि नै उपमहानगरपालिकासँगको साझेदारीमा काम गर्दै आएको छ । २०७२ सालमा हेटौंडालाई नेपालकै पहिलो स्वच्छ शहर घोषणा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । हाल १३ वटा सवारी साधनमार्फत् फोहोर संकलन गर्दै आएको कम्पनीले स्रोतमै वर्गीकरणको अभ्यासलाई निरन्तरता दिइरहेको छ ।

कार्यक्रममा वडा नं। १० का अध्यक्ष तथा वन तथा वातावरण संरक्षण समितिका संयोजक फुर्वा दोर्जे लामा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, उपमहानगरपालिका वन तथा वातावरण शाखा प्रमुख हीम प्रसाद पौडेल, शाखा इन्जिनियर चन्दा खड्का, नेपाल ट्रेड युनियन बागमती प्रदेशका उपाध्यक्ष अर्जुन अर्याल लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*