बकैयामा जारी साहित्य महोत्सवको पहिलो दिन छन्द कविता प्रशिक्षण

छहारी संवाददाता
फाल्गुन १७, २०७६

मकवानपुरको बकैया गाउँपालिकामा जारी बकैया साहित्य महोत्सवको पहिलो दिन हिजो शुक्रबार छन्द कविता प्रशिक्षण, भित्ते पत्रिका लेखन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आजको पहिलो सत्र अन्तरगत बकैया गाउँपालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक तथा आधारभूत विद्यालयका १५ जना नेपाली विषय शिक्षकहरुलाई छन्द कविता प्रशिक्षण दिइएको छ ।

प्रशिक्षणको सहजीकरण प्रगतिशील लेखक संघ मकवानपुरका निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्यले गर्नुभएको थियो ।

एकैसाथ चलेको अर्को सत्रमा बकैया गाउँपालिकाका १० विद्यालयका ५ दर्जनभन्दा बढी विद्यार्थीहरूका लागि पठन संस्कृति विकास तथा भित्तेपत्रिका लेखन कार्यशाला आयोजना गरिएको छ ।

यस सत्रको सहजीकरण ‘बाल उदय’ मासिकका सम्पादक नरेन्द्र कुमार नगरकोटी, झरनाका अध्यक्ष दीपक गौतम र उपाध्यक्ष विश्वनाथ सञ्जेलले संयुक्त रुपमा गर्नुभएको थियो ।

बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेको प्रमुख आतिथ्यमा सम्पन्न औपचारिक कार्यक्रममा  बकैया -४ का वडाध्यक्ष राजन दङ्गाल र झरनाका निवर्तमान अध्यक्ष उद्दव सापकोटा विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो ।

महोत्सवको दोस्रो दिन भोलि स्रष्टा सम्मान र रचना वाचन कार्यक्रमका साथमा दुइवटा विषयमा अन्तरक्रिया कार्यक्रम रहनेछन् । जस अनुसार, ‘कला साहित्यको विकासमा स्थानीय तहको भूमिका’ तथा ‘ नेपाली साहित्यमा मकवानपुर’ विषयका छुट्टाछुट्टै अन्तरक्रिया हुनेछन् ।

सम्मान कार्यक्रम अन्तरगत भोलि साहित्य क्षेत्रमा विविध किसिमले योगदान पुर्याउनुहुने ६ जनालाई विभिन्न सम्मानहरू प्रदान गरिने कार्यक्रम रहेको छ ।

साहित्यकार तथा पत्रकार डा. नवराज लम्साललाई होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७६ र विनोदविक्रम के.सी.लाई खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७६  प्रदान गरिने भएको छ ।

त्यसैगरी, कवि विना थिङ तामाङलाई सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७६ र साहित्यसेवी मुक्तिगोविन्द वैद्यलाई सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७६ प्रदान गरिनेछ ।

यस्तै बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७६ व्यङ्ग्यकार रामचन्द्र आचार्य ‘फुर्सती’लाई प्रदान गरिने आयोजक संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिए ।

यसवर्षबाट सुरु भएको ‘झरना-बकैया पत्रकार सम्मान-२०७६’ मकवानपुरमा लामो समयदेखि क्रियाशील पत्रकार प्रताप विष्टलाई प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*