फाखेल–मातातीर्थ सडक निर्माण सुस्त, निर्माण कम्पनीलाई जरिवाना

छहारी संवाददाता
चैत्र २७, २०८२

हेटौँडा- काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा हेरिएको फाखेल–मातातीर्थ–सतुंगल सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
प्रादेशिक सडक गुरु योजनामा समावेश उक्त सडक निर्माण सुरु भएको झण्डै सात वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन ।
यस सडकको ट्र्याक खोल्ने काम तत्कालिन जिल्ला विकास समिति काठमाडौबाट २०५५ सालमै सुरु गरिएको थियो । ट्र्याक खोल्न मात्रै झण्डै १२ वर्ष लाग्यो ।  ट्र्याक खुलेको करिब एक दशकपछि २०७६ जेठ १७ गते बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सडक निर्माण कार्य सुरु गरिएको थियो  ।
कुल १४ दशमलव ४ किलोमिटर सडकखण्डलाई मकवानपुर र काठमाडौँ गरी दुई भागमा विभाजन गरी छुट्टाछुट्टै निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो ।
मकवानपुर खण्डअन्तर्गत महालक्ष्मीखोलादेखि चखेल–मकैबारीसम्म ६ दशमलव ३ किलोमिटर सडक निर्माणको जिम्मा पूर्वाधार विकास कार्यालय मकवानपुरमार्फत सदाशिव हिमाल कन्स्ट्रक्सनले पाएको थियो ।
यस्तै, काठमाडौँ खण्डअन्तर्गत मकैबारीदेखि मातातीर्थसम्म ८ दशमलव १ किलोमिटर सडक निर्माणको जिम्मा पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत अमर कन्स्ट्रक्सनलाई दिइएको थियो । काठमाडौँ खण्डमा निर्माण कार्य अत्यन्तै सुस्त देखिएको छ ।
अमर कन्स्ट्रक्सनले २०७६ सालमा भ्याट सहित करिब २८ करोड रुपैयाँमा ठेक्का सम्झौता  गरेका थियो । पटक–पटक गरी पाँच पटकसम्म म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको छैन ।
समयमै काम सम्पन्न नभएपछि प्रदेश सरकारले निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत हर्जाना लगाएको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख नवीन सिंहले जानकारी दिनुभयो । यस खण्डको हालसम्म भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६६ दशमलव ०२ प्रतिशत रहेको छ ।
मकवानपुरतर्फको खण्डमा सदाशिव हिमाल कन्स्ट्रक्सनले २०८० जेठमा दुई वर्षभित्र काम सक्ने गरी करिब १८ करोड ४६ लाख रुपैयाँ लागतमा सम्झौता गरेको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आगामी जेठ २५ गतेसम्मका लागि एक वर्ष म्याद थप गरिएको थियो ।
यस खण्डमा हालसम्म भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ७२ दशमलव ३५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार सडक चौडाइ, सबबेस, कल्भर्ट, टेवा पर्खाल र नाली निर्माणका काम सम्पन्न भइसकेका छन् भने बेस ओछ्याउने काम ८० प्रतिशत पूरा भएको छ ।
हालसम्म करिब तीन किलोमिटर सडक कालोपत्रे तथा ढलान भइसकेको छ । बाँकी रहेको ३ दशमलव ३ किलोमिटर सडक आगामी वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख ईन्जिनियर सुजन भण्डारीले बताउनुभयो ।
महालक्ष्मीखोलादेखि काठमाडौँको कलंकीसम्म करिब २० किलोमिटर दूरी रहने यस सडक समयमै सम्पन्न हुन सकेमा काठमाडौँ–हेटौँडा यात्रा छोटो र सहज हुने अपेक्षा गरिएको छ । प्रदेश राजधानी र संघीय राजधानी जोड्ने अन्य मार्गमध्ये यो सबैभन्दा छोटो दूरीको मार्ग मानिन्छ ।
हेटौँडाबाट कुलेखानीसम्म एउटै मार्ग प्रयोग गर्नुपर्ने हुन्छ । त्यसपछि सिस्नेरी–दक्षिणकाली, फाखेल–हुमाने–फर्पिङ र महालक्ष्मीखोला–मातातीर्थ गरी तीन विकल्पमध्ये यो मार्ग सबैभन्दा छोटो रहेको छ ।
चखेल क्षेत्र तरकारी पकेट क्षेत्रका रूपमा विकास भइरहेकाले यहाँ उत्पादित तरकारी काठमाडौँको कालिमाटीसम्म सहज रूपमा ढुवानी गर्न तथा आवतजावतलाई थप सहज बनाउन यो सडक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*