मकवानपुरमा आजदेखि घरमै राहदानी
मकवानपुरमा आजदेखि राहदानी (पासपोर्ट) सेवाग्राहीको घरमै पुग्ने सेवा औपचारिक रूपमा सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाकमार्फत घर–घरमै राहदानी पु¥याउने व्यवस्था बुधबारदेखि लागू गरेको हो । नेपाल सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्ययोजना अन्तर्गत नागरिकलाई सहज रूपमा राज्यको सेवा घरमै उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।
पहिलो चरणमा हेटौँडा उपमहानगरपालिका क्षेत्रबाट सेवा प्रवाह सुरु गरिएको प्रशासनले जनाएको छ । घरमै पासपोर्ट पुग्न थालेपछि सेवाग्राहीहरू अचम्मित हुनुका साथै उत्साहित समेत बनेका छन् ।
राहदानी लिन सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । यसबाट समय, खर्च र झन्झट कम भई राज्यको सेवा दैलोमै पुगेको अनुभूति भएकोृ उनीहरूले प्रतिक्रिया दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार हुलाक कार्यालय मार्फत वितरणका लागि ५० वटा राहदानी पठाएको छ । नजिकका वडामा आजै र टाढाका क्षेत्रमा भोलिसम्म राहदानी घर–घरमै पु¥याइने हुलाक कार्यालय मकवानपुरका प्रमुख रमेश लामिछानेले बताउनुभयो ।
हाल स्रोत–साधन र सुरक्षा संवेदनशीलताका कारण जिल्लाका अन्य पालिकामा सेवा विस्तार गर्न नसकिएको कार्यालय प्रमुख लामिछानेले बताउनुभयो । मकवानपुरको भौगोलिक बनोटका कारण पनि सबै पालिकामा तत्काल सेवा विस्तार गर्न कठिन रहेको उहाँको भनाइ छ ।
राहदानी जस्तो महत्वपूर्ण कागजपत्र सुरक्षित रूपमा सेवाग्राहीसम्म पु¥याउनु चुनौतीपूर्ण भएकाले पनि सेवा विस्तारमा समस्या रहेको जनाइएको छ । यसका साथै हुलाक कार्यालयमा सवारी साधन र जनशक्तिको अभावका कारण टाढाका क्षेत्रमा सेवा विस्तार गर्न कठिनाइ भइरहेको छ ।
स्रोत–साधन र कर्मचारी थप भए अन्य पालिकामा पनि सेवा सहज रूपमा सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ ।
पहिलो चरणमा राहदानी लिन नआएका करिब साढे ५ सय सेवाग्राहीलाई हुलाकमार्फत घरमै वितरण गर्ने तयारीे छ ।
पहिलो चरणमा राहदानी लिन नआएका करिब साढे ५ सय सेवाग्राहीलाई हुलाकमार्फत घरमै वितरण गर्ने तयारीे छ ।
भविष्यमा यो सेवालाई विस्तार गर्दै नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत घरमै उपलब्ध गराउने प्रशासनको तयारी छ ।







