वैशाख २६ र २७ गते प्रदेश राजधानी हेटौंडामा लोक भजन प्रतियोगिता हुने

छहारी संवाददाता
बैशाख २२, २०८२

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, जिल्ला कार्यसमिति मकवानपुरले बागमती प्रदेश स्तरीय लोक भजन प्रतियोगिता आयोजना गर्ने भएको छ । वैशाख २६ र २७ गते प्रदेश राजधानी हेटौंडामा प्रदेशस्तरीय लोक भजन प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो ।

लोपोन्मुख अवस्थामा रहेका खैजडी, मुजुरा, कर्ताल,मृदङ लगायत मौलिक बाजाहरु प्रयोग गरि लोक भजन, चुट्का, ख्याली किर्तन, श्लोक र वालन विधामा प्रतियोगिता आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष अनिता सुवेदीले जानकारी दिनुभयो । नेपाली मौलिक लोक भजन, नेपाली मौलिक लोक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवद्र्धनका निम्ति प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

उक्त अवसरमा लोक भजन क्षेत्र र लोक बाजा क्षेत्रमा लामो समयदेखि योगदान पुराउने व्यत्तित्वलाई सम्मान गर्नुका साथै अशक्त, असहाय र निमुखाको उत्थानका लागि कोष समेत स्थापना गरिने बताइएको छ । प्रतियोगिताको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गर्नुहुनेछ ।

प्रतियोगितामा विभिन्न जिल्लाका १० वटा भन्दा बढी लोक भजन समुहहरूले सहभागिता जनाउने आयोजकले जानकारी दिनएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त समूहलाई नगद रु तीस हजार, बीस हजार र दश हजार प्रदान गरिनेछ भने सान्त्वना स्थान हासिल गर्ने दुई वटा समूहले पाँच–पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख लाग्ने आयोजकको अनुमान रहेको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय,मकवानपुरका १० वटै स्थानीय तह र हेटौंडा उपमहानगरपालिकाका ४, ५, १८ र १९ नम्बर वडाको समन्वयमा कार्यक्रम हुन लागेको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका केन्द्रिय सदस्य नारायण रेग्मी, जिल्ला सचिव विदोद पुडासैनी लगायतको उपस्थिती थियो ।

यस्ता कार्यक्रमले युवापुस्तामा मौलिक संस्कृति प्रतिको रुचि जागृत गराउने आयोजकको विश्वास समेत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*