बकैयाकी सुमिना दाहालको मुक्तक सर्वोत्कृष्ट
झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको मुक्तक प्रतियोगितामा बुद्ध मावि बकैयाकी सुमिना दाहालको मुक्तक सर्वोत्कृष्ट भएको छ ।
२८८औं साहित्य शृङ्खला तथा २९ औ टिकटमा मुक्तक साँझको अवसरमा आयोजित माध्यामिक तह (९–१२) स्तरीय मुक्तक प्रतियोगितामा दाहालको मुक्तक विजयी भएको हो । दाहाललाई ५ हजार ५ सय ५५ नगद राशीको शिव–सावित्री स्मृती नवप्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा २१ प्रतियोगीका ४२ वटा मुक्तक सहभागी थिए । कार्यक्रममा रमेशमोहन अधिकारीले स्थापना गर्नुभएको १५ हजार ५ सय ५५ रुपैयाँ राशीको शिव–सावित्री अधिकारी स्मृति मुक्तक अग्रज सम्मानबाट मुक्तककार रुद्र अधिकारी सम्मानित हुनुभयो । कार्यक्रममा १० उत्कृष्ट मुक्तक बाचन समेत गरिएको थियो ।
झरना साहित्यिक परिवा्का अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा नियात्राकारा निर्मोही ब्यासको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पोखराका मुक्तककार प्राञ्जल, चितवनकी बिमला अधिकारी, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना न्यौपाने, गजल मञ्च मकवानपुरका अध्यक्ष केशव सर्मण, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबि बर्तौला, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवी अनित्य, युग दर्पण साहित्य समाज मकवानपुरका अध्यक्ष ओमभक्त न्यौपाने लगायतको आतिथ्यता थियो ।
झसापले २०६४ सालदेखि नियमित रुपमा मुक्तक साँझ गर्दै आइरहेको छ ।







