डिबी बर्तौलाको अध्यक्षतामा साहित्य संगम मकवानपुरको नयाँ कार्यसमिती चयन

छहारी संवाददाता
भदौ २३, २०८०

साहित्य संगम मकवानपुरको १६औं अधिवेशले डिबी बर्तौलाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

शनिबार हेटौंडामा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा बर्तौला ९७ मतसहित अध्यक्ष बन्नु भएको हो । बर्तौला यसअघि साहित्य संगम मकवानपुरका सचिव हुनुहुन्थ्यो । अध्यक्षका अर्का प्रत्यासी पुरूषोत्तम आचार्यले ८१ मत प्राप्त गर्नुभयो । यस्तै १२१ मतसहित उपाध्यक्षमा सानु खनाल दोहोरिनु भएको छ । उहाँका प्रतिष्पर्धी एस के निधनले ५६ मत प्राप्त गर्नुभयो ।

६७ मत प्राप्त गर्नु भएका यश लामाका प्रतिष्पर्धी तथा अघिल्लो कार्यसमितिका कोषाध्यक्ष मनोज पोखरेल ११० मतसहित सचिव पदमा विजय हुनु भयो । कोषाध्यक्षमा मेनु तिमल्सिना र सहसचिवमा भवानी तिमल्सिना निर्विरोध चयन हुनु भएको छ भने सदस्यहरूमा १२४ मतसहित रजनी पौडेल, ११८ मतसहित स्वस्तिका बानियाँ, ९९ मतसहित कृतिका लौडारी र ८३ मतसहित कुबेर पराजुली चयन हुनु भएको छ ।

अन्य उम्मेदवारहरूमा मीनप्रसाद लामिछाने, बैकुण्ठ लामिछाने, सिएम रिमाल रहनु भएको थियो । साहित्य संगम मकवानपुरमा कूल २४४ सदस्यमध्ये १८२ जनाले मताधिकार प्रयोग गरेका थिए भने ३ मत बदर भएको थियो । संगममा पूर्व अध्यक्ष अनिता न्यौपाने, वर्तमान अध्यक्ष डिबी बर्तौला र पुरूषोत्तम आचार्य गरी ३ जना अध्यक्षका लागि उम्मेदवारी रहेकोमा न्यौपानेले उम्मेदवारी फिर्ता लिनु भएको हो ।

आचार्यले अन्तिम समयसम्म पनि सहमतिको प्रयासका लागि सहजिकरण गर्नुहुने सबैप्रति धन्यवादका साथ विजयी सबैलाई शुभकामना दिनुभएको छ । आगामी कार्यकाल सबैजनासंग हातेमालो गर्दै साहित्यिक गतिविधिमा सक्रिय रहने उहाँको भनाई छ । निर्वाचन मण्डलमा तुल्सी घिमिरे, निमेष निखिल, सुवास खनाल र अधिवक्ता ऋषि केबी रहनु भएको थियो ।

रचना वाचन गरी सुरू भएको कार्यक्रममा संस्थागत तर्फ प्याब्सन मकवानपुर, नवोदय शिशु सदन, नेपाल हृदयरोग निवारण केन्द्रका साथै साहित्यसेवी तथा बालजागृति अंग्रेजी बोर्डिङ् स्कुलका प्रिन्सिपल विनोद सुवेदी, दाता सुदीप शिवाकोटी र सूचना सम्प्रेषणका लागि प्रदेश सञ्चार डटकमका सम्पादक केशव सुवेदी समर्पण सम्मानित हुनुभयो ।

२०४४ सालमा स्थापित साहित्य संगम र २०५५ मा स्थापित सिस्नुपानी मकवानपुरलाई साहित्यसेवी तथा हास्यव्यङ्ग्यकार आरसी रिजालले जग्गा उपलब्ध गराउनु भएकोमा हेटौंडा भैरवरोडस्थित संयुक्त भवनमा विभिन्न साहित्यिक क्रियाकलापहरू हुँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*