मेरो देश मेरो सम्पदा

प्रभातमा लाली समान रविको
सुनौलो सुन्दर मनमा छवि त्यो
यी मोठ मन्दिरहरुका सःदृश्य
आउन नयनमा हरपल अवस्य ।।
मस्जिद, गुम्बा अनि चर्च, मन्दिर
नहोस अन्तर मनमा कुनै दिन
समान संझु सब ईश एक
मन भित्रको भावना होस नेक ।।
वृद्धाहरु देव समान मानु
बेसहारा बालकलाई जानु
यीनका सबैको म बुझेर मर्म
लागुँ म हर्दम गरुँ नेक कर्म ।।
म बुझ्न सक्षम रहुँ आर्तनाद
दुःखीहरुको म समाउ हात
जो सक्छु आफ्नु क्षमता भरिको
म गर्न तत्पर रहुँ हरघडी यो ।।
मानौं सबै सार समाज एक
जानौं विविध संस्कृत छन् अनेक
हाम्रा इनै संस्कृतिमा रमाऊ
म मेरो देश मुटुमा सजाऊ ।।
मानिस भई जन्म लिएको सार
म तिर्न सक्षम रहुँ मातृ भार
पहिलो कदम मानवता हो मेरो
सर्वोपरी ठानु स्वदेश मेरो ।।
(रचनाकारः मिथिला अधिकारी)