जिन्दगी, भोगाइ, अनि नेपथ्यले दिएको खुसी ….

मुस्कान थापा
भदौ ११, २०७७

प्रसिद्धि प्रती म कहिले पनि निर्भर हुन सकिन, किनकी मलाई प्रसिद्धि प्रती कहिले पनि भर लागेन, यो टिकाउ छैन र हुदैन पनि । त्यसैले मैले मेरो खुसी जहिले पनि नेपथ्यबाट खोजें । भनिन्छ जिन्दगीलाइ भोगाइले परिपक्व बनाइदिन्छ, भोगाइ मान्छे पिच्छे अलग अलग हुन्छ र हुनु पनि पर्छ, जिन्दगी सोचे जस्तो समरुपमा बिल्कुलै बित्दैन । चाहेको जस्तो लयमा पनि बित्दैन । जस्तो भोग्यो त्यस्तै भएर बिति पो दिन्छ की ११ मेरो जिन्दगी पनि यसबाट फरक हुन सकेको छैन ।

कयौं उतार चढाव, आरोह अवरोहहरुले कहिले कस्तो त कहिले कस्तो उत्साह अनि निराशाहरुले बारम्बार आफ्नो रुप देखाइरहन्छ ! मेरो जिन्दगी अरुको लागी महत्वपूर्ण हुन सकेन कहिले पनि, मबाट मान्छेहरुले केहि लिन सकेका छैनन् अनि मैले दिन । तर पनि आजसम्म भरसक अरुको चित्त दुखाउने, मन बिझाउने काम गरेकी छु जस्तो लाग्दैन, आफ्नो स्वार्थको लागि अरुलाइ प्रयोगमा ल्याएको छु जस्तो लाग्दैन ।

खैर, यो पनि आफुलाइ राम्रो सावित गर्ने कुराहरु हुन, त्यसैले यो प्रसङ्ग लम्व्याउन चाहन्न । अहिलेसम्म मैले मेरो भोगाइमा आफुप्रती गर्व गर्न सक्ने केहि सिमित समयावधि जुन बितेर गैसकेको छ त्यो मेरो बिगत हो । तर पनि मेरो जिन्दगीको सबैभन्दा आनन्ददायक भोगाइ हो, जहिले सम्झिन्छु खुशी लाग्छ, बेग्लै खालको पुर्णता दिएर जान्छ जिन्दगीको भोगाइमा । त्यो हो, मेरो रेडियोको जिन्दगी, रेडियोमा बिताएका ति अविस्मरणीय क्षणहरु, ति यादहरु, अनि त्यो काम प्रतिको मेरो मोह । त्यो समयले भन्दा अहिले स्पष्ट पारिदिएको छ ।

पारिवारिक कुनै पृष्ठभुमि नभएकोले रेडियोमा कुनै दिन आवद्ध हुन्छु भन्नेमा विस्वस्थ कहिले थिइन । जब मोफसलको पहिलो रेडियो मनकामना एफ एम ९२.९ मेघाहर्ज खुल्यो, त्यती बेला सायद म सात या आठ कक्षा मा पढ्दै थिए । अनि मैले त्यो अवाज जति बेला सुने त्यती बेला देखी नै त्यो आवाज, त्यो स्वर मेरो मानसपटलबाट कहिले गएन । यसअघि पनि रेडियोको भरपर्दो श्रोता त म थिए नै । रेडियो नेपालको प्राय सबै कार्यक्रम सुनिरहेकै हुन्थे । तर रेखा दिदीको आवाजमा मैले आफ्नोपन पाए, रेखा दिदीको स्वरले मलाई आकर्षीत गरेको मात्र होइन आशा जगाएको थियो । विस्वास दिलाएको थियो कि म पनि रेडियोमा बोल्न सक्छु, काम गर्न सक्छु ।

मेरो त्यो आशामा थोरै भरोसा थपियो । ११/१२ को पढाई चलिरहदा विन्द्ववासिनी मिडिया प्रा लिद्वारा संचालित रेडियो उदघोषण तालीममा सहभागी हुने मौका पाए । त्यही समय थियो, आदरणीय गुरुहरु दाहाल यज्ञनिधी, प्रकास सायमी, अच्युत घिमिरे लगायत अन्य गुरुहरुबाट प्रशिक्षित हुने अवसर मिलेको । तर कारणवस रेडियो केहि समय खुल्न सकेन, म साना  साना नानीहरुलाइ  जिल्ला शिक्षा कार्यालयद्वारा संचालित बालकक्षा पढाउन थाले ।

पछि एक्कासी रेडियो खुल्ने कुरा चल्यो, तालीम लिएकाहरु मध्य केहिलाइ बोलाइयो, जस्मा म पनि परे । तर रेडियो नेशनल एफ एम ९०.४ मेघाहर्ज, एकताको आवाज समानताको आवाज नामले खोलिने भयो । विभिन्न आन्तरिक कारणले बन्द हुन गएको मनकामना एफ एमकै भवनमा नयाँ नाम सहित रेडियोले आफ्नो परिक्षण प्रशारण शुरु गर्यो । सुरुवात देखी नै रेडियोमा आवद्ध हुने मौका पाएं । म एकदमै खुशी थिए, म्युजिक लाइब्रेरीको सिसा अनि सिडिहरुमा जमेको धुलोहरु पुछ्दै शुरु गरेको ति दिनहरुले रेडियोसंग झन नजीक बनाइदियो । आत्मियता झन प्रगाढ बन्दै गयो । बेग्लै उमंग थियो म भित्र ।

परिक्षण प्रशारण सकिय लगत्तै रेडियोले कार्यक्रम दिनु पर्ने भयो, अनि मेरो पहिलो कार्यक्रम ९ः१५ को बीबीसी नेपाली सेवापछि रातिको हुने भयो । रेखा दिदी कै कार्यक्रमलाइ निरन्तरता दिने इच्छा जाग्यो ममा । त्यही नाम, त्यही धुन, मात्र पात्र फरक भएर प्रशारण सुरु भयो । पहिलो कार्यक्रम, त्यो पनि प्रत्यक्ष । त्यस माथी प्रविधि अगाडी रेडियोका मेनेजिङ्ग डिरेक्टर हाल नयाँ पत्रीकामा आवद्ध आदरणीय गुरु, दाजु दिपक अधिकारी । मेरो मुटुको धडकन तेजसंग चलिरहेको थियो, कुनै ढुङ्गाले थिचे जस्तो भैरहेको थियो ।

जब कार्यक्रमको सिग्नेचर धुन बज्यो, फेडर सानो हुदै आयो तब मैले मेरो आवाज प्रत्यक्ष रूपमा रेडियो मार्फत गुन्जाय, सुरूवातमा मैले मेरो कार्यक्रमको जानकारी दिए । पुराना हिन्दी गित बज्ने हुदा पहिलो गित फिल्म रुदालीको ‘दिल हुम हुम करे’ ……बोलको गित बज्यो लता मङेगसकर को आवाजमा । डर अहिले पनि त्यस्तै नै थियो, तर जव दिपक सरले नेपथ्यबाट राम्रो छ भन्ने संकेत गर्नु भयो रेखा दिदीको जस्तै स्वर रहेछ भन्नुभयो अनि मेरो डरलाइ केहि राहत मिल्यो । सायद, जान मे जान आगइ भने जस्तै भयो !!

खोइ मान्छेहरु अरु जस्तो बन्न चाहदैनन् भन्छ्न, आफ्नै पहिचान बनाउनु पर्छ भन्छ्न । तर मैले रेखा दिदी जस्तै बन्छु भनेर कहिले सोचिन यो सम्भव पनि छैन तर रेखा दिदी जस्तै गरि बोल्न चाँही अवस्य चाहन्थे अनि दिदी जस्तै छ भन्दा झन खुसी लाग्यो । कार्यक्रम मन परेको प्रतिक्रिया स्वरुप रेडियोमा फोन पनि आयो एक प्रस्तोताको लागी यो भन्दा ठुलो कुरा अरु हुन सक्दैन सायद ।

प्राय सबै रेडियो मै बसेर काम गर्न चाहन्थे, तर मलाई भने बाहिर जान मन पर्थ्यो । मैले अर्को कार्यक्रम गर्ने सोच बनाए सरहरुले पनि सुझाव दिनु भयो, साहित्यिक व्यक्तित्व, श्रस्टा र सर्जकहरुसंगको कुराकानी अझ भनौ प्रोफाइल बनाउने सल्लाह भयो । कार्यक्रमको नाम राखे ‘मधुमास’, पछि यो सुहाउँदो भएन भनेर अहिलेको चर्चित लेखक युग पाठक जो मेरो क्याम्पसका गुरु, अनि कार्यालयका सहकर्मी पनि हुनुहुन्थ्यो उहाँले अर्को नाम जुराइदिनु भयो ‘सिर्जनाको सुवास’ ।

कार्यक्रमको चर्चा धेरै थियो त्यति बेला । यहि शिलशिलामा मैले स्थानीय धेरै अग्रजहरुसंग भेट्ने, कुरा गर्ने, अनिसंगै चिया पिउने अवसर पाए । उहाहरुको जिन्दगीलाइ, भोगाइलाइ नजीकबाट छाम्ने, नियाल्ने मौका पाएं । उहाँहरु यति शालीन हुनुहुन्थ्यो, जस्को शालीनताले जो कोहिलाइ पनि शालीन बनाइदिन्थ्यो, म त यति धेरै नत मस्तक हुन्थे जुन कहिले हराउने छैन ।

प्रसिद्धि यस्तो नशा हो जुन चढे पछि उत्रन मान्दैन, चाहदैन । प्रसिद्धि प्रती म कहिले पनि निर्भर हुन सकिन, किनकी मलाई प्रसिद्धि प्रती कहिले पनि भर लागेन, यो टिकाउ छैन र हुदैन पनि । त्यसैले मैले मेरो खुसी जहिले पनि नेपथ्यबाट खोजें ।

रेडियको रफ्तार बढी रहेकै थियो । श्रोताको साथ र माया अझै थपिदै थियो, लोकगीतको कार्यक्रममा यति धेरै पत्र आउथे जस्लाइ वाचन गर्न मलाई भ्याइ नभ्याइ हुन्थ्यो, पहिला लोकगीत प्रती त्यती चासो थिएन मेरो । तर जब मैले गामबेसीका भाकाहरु, संचालन गरे तब पारखीहरु भेट्दै गए । लोकगीतको माग अनि माया दुबै अथाह रहेछ थाहा भयो ।

मैले विभिन्न धर्म, संस्कार, संस्कृती बारेमा कौतुहलता जागेर केही किताव पढें र रेडियोबाट प्रसारण गरे । एक चोटि राइहरुको संस्कार बारे भन्दा रेडियो घेर्न आएको म कहिले बिर्सन सक्दिन । गलत जानकारी भयो भनेर धन्न मैले आफ्नो सामाग्रीको श्रोत खुलाउन सके अनि माफी मागे । माफी पाए पनि मैले दुइ कुरा सिके एक सजक हुन अनि अर्को श्रोताले दिएको चासो, यदि चासो दिएर नसुनेको हो भने मेरो गल्ती समातिन सक्दैन थियो ! रेडियोमा निर्धारित र लेखिएको कुरा बोल्नु पर्छ भन्ने प्रेरणा मिल्यो जुन मेरो उपलब्धि नै थियो ।

स्नातक पढाई, घर अनि कलेज, कहिले खाएर कहिले भोकै यात्रा चलीनै रहेको थियो । पछि आउन जान गाह्रो हुन थाले पछि म रेडियो नजिकै मेरि दुज्युसंग बस्न थाले । रेडियोमा म अलि सानै थिए, त्यसैले पनि होला मलाई सबैले माया गर्नु हुन्थ्यो, पछि मलाई प्राविधिक सिक्न मन लाग्यो सिके पनि । म आफ्नो कार्यक्रम आफै इडिट गर्थे, मिक्सिङ पनि गर्थें, केहि समय पछि लाइभमा पनि बस्न थाले ।

लाइब्रेरीको भुइमा बसेर चिउरा चाउचाउ अनि भुजा मोलेर खादाको आत्मीयता आज अन्त पाउदिन म, त्यो सामीप्यता आज पनि मलाई महसुस हुन्छ । एकतामा बस्नुको मज्जा नै बेग्लै छ । रेडियोमा बिताएका ति चाड पर्व, विषेश गरि होलिको त्यो माहोल म कहिले बिर्सन सक्दिन ।

सबै ठिक चलिरहेकै थियो । त्यती नै बेला पत्रकारितामा श्रम ऐनको विषय चर्केर आयो । आज यति भुझेकी छु सधैं सबै ठिक चलिरहन सक्दो रहेनछ, समय प्रतिकुल भैदियो, हाम्रो बस भन्दा बाहिर हुदै गयो । दुइ बर्ष पुग नपुगमा रेडियो बन्द हुने जस्तै अवस्था आयो । साथीहरुले रेडियो छोड्न थाले । कोहि अर्को रेडियोमा जोडीन गए, जुन हाल रेडियो थाहा सञ्चार नेटवर्क नामले संचालित छ ।

चाहेको भए म पनि जान सक्थे । नेशनल एफ एम छोडने जति सबैलाइ नियुक्त गर्ने अफर नै थियो । अहिले पनि कतिपय साथीहरु त्यसैमा आवद्ध हुनुहुन्छ, तर म जान सकिन खै किन रु मेरो लागी रेडियो त्यतिबेला जागीर मात्र थिएन सायद सम्बन्ध पनि थियो, भावनाहरु थिए । त्यती सानो हेटौंडा शहरमा मलाई मेरो एउटै आवाज कहिले यो रेडियोमा कहिले त्यो रेडियोमा सुनाउने मनै थिएन । अहिले लाग्छ सायद म प्रोफेस्नल हुन सकिन कि ? तर पछुतो कहिले लागेन । केहि साथीहरुको आवाज फेरि गुन्जिन थाल्यो !!

म त्यसपछि नवलपरासीको मध्यबिन्दु एफ एममा जोडीन गए, मैले मेरो स्थानीयत्व निभाउन सकिन सायद !! नवलपरासीको बसाइ पनि निकै रमाइलो भयो । भर्खरै परिक्षण प्रशारण मात्र सकिदै गरेको रेडियोमा मेहनत गरेरै काम गरे भन्न सक्छु म। हप्ताको पाँच वटा रेडियो पत्रीका दिनु बनाउनु कम मेहनतको काम होइन किनकि आधा घन्टाको समयमा दिनु पर्ने धेरै सामग्रीहरुको कार्यक्रम थियो त्यो ।

त्यहा पनि एक दिन त्यस्तै घटना भयो, चितवन रास्ट्रीय निकुञ्जको निशेधित छेत्रमा प्रवेश गरिसक्दा पनि मैले पत्तो नै पाइन ज्यान धरापमा परिसकेको थियो । धन्न मसंग एक जना बोटे भासा जान्ने साथी हुनुहुन्थ्यो उहाँले गर्दा त्यो संकट पनि टरेर गयो । मेरो घरबेटी दाजु दिदीहरु मसंगै अर्को फ्ल्याटमा बस्नु हुने कोपिला दिदि र उहाँको परिवारले दिएको माया र साथ अनि अभिभावकत्व प्रती म सधैं रिणी ऋणि रहनेछु । रेडियोले आर्थिक लाभ कहिले दिएन तर रेडियोको माध्यमबाट पाएको साथ, माया अनि आत्मीयता मेरो लागी अनमोल छ ।

नवलपरासीमा हामीले चिया पिउने सानो कटेज थियो, जहा मलाई एकजना भाइले भनेको अहिले पनि याद छ, दिदि एक जना मान्छेको मोवाईल रिङ्गटोनमा त तपाईंको कार्यक्रमको प्रोमो पो रहेछ । म उसलाई हेरेर खिस्स हासे मात्र । हुन त यो मैले पाएको माया नै हो तर मलाई यो पनि थाहा थियो कि यो सधै को लागी होईन । आज म छु र मात्र छ, भोली म यो क्षेत्रमा नहुने बित्तिकै सबैले बिर्सिन्छ नै, त्यसैले पनि होला प्रसिद्धि प्रती मलाई कहिले भर लागेन किनकी यो टिकाउ कहिले पनि छैन ।

मलाई आज पनि याद छ , साहित्य संगम मकवानपुरको मासिक कार्यक्रम गर्न हामी मासिक रूपमा पैसा संकलन गर्थ्योउ । कहिले पुस्पलाल स्मृति पुस्तकालयको हलमा, कहिले साहित्य संगम मकवानपुरको हलमा कार्यक्रम गर्थ्योउ । तर अहिले म साधारण सदस्यमा समेत पर्दिन, कारण मैले निरन्तरता नदिनु नै हो । दाजु दिदीहरु, साथीहरु हाल पनि सक्रिय हुनुहुन्छ । म खुशी छु उहाँहरुको लागि । तर मैले आफ्नो ठाउँको लागी निरन्तर केहि पनि दिन सकिन, जस्को दुख सधैं नै रहनेछ मलाई । बिर्सनु कुनै नौलो कुरा होइन । समयसंगै केहि कुरा ओझेलमा पर्छ नै, त्यसलाइ जोगाउन आफ्नो भुमिका अब्बल हुनै पर्छ ।

जिन्दगी चाहेर पनि अनुकुल भएर बित्दोरहेनछ । भोग्न चाहेको जिन्दगी भोग्न पाईदो रहेनछ । मैले जिन्दगीमा चाहेर भोग्न पाएको एक मात्र समय काल, क्षण, भनौ या भोगाइ यहि रेडियोको जिन्दगी हो । यो मेरो भोगाइहरुको सबैभन्दा स्वर्णीम भोगाइ हो । धेरै कुरा सिकियो के भनौ, जिन्दगी प्रतिको भोगाइ सिकियो, बुझियो । ति दिनहरु सम्झेर अहिले पनि हर्सित हुन सक्छु म ।

प्रसिद्ध हुन सबैलाइ मन पर्छ, प्रसिद्धि यस्तो नशा हो जुन चढे पछि उत्रन मान्दैन, चाहदैन तर म यो प्रती आकर्षित हुन कहिले सकिन खै किन ? यो मेरो ठुलो कमजोरी होला सायद । भिजेमा अफर आउँदा पनि त्यो पेशा अपनाउन सकिन, नेपथ्यको काम नै प्यारो भयो सधैं । अहिले पनि फिल्म रिलिज हुनु अघि प्रीमियर सो मा निम्तो आउछ तर म जान रुचाउदिन । सायद मलाई चिनिन, देखिन मन पर्दैन । या त्यो समयको सामना गर्न सक्दिन । त्यसैले पनि म रेडियो प्रती त्यती धेरै आकर्षीत हुन पुगे कि ! जस्मा आवाज मात्र उस्को परिचय बनिदिन्छ । सायद म सधै नेपथ्यको कामले दिने अनि नेपथ्यबाट पाउने खुसीको खोजीमा थिए कि !! छु या सधै रहनेछु !!!

(लेखक ‘मुस्कान थापा’ हाल नेपाली चलचित्र क्षेत्रमा आवद्ध हुनुहुन्छ ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*