जसले नयाँ जीवन पाए

‘आफ्नाइ बैकानले हेला गर्‍यापछि अरुले पन हेप्न्या रैछन् । क्या भयोभयो, मेरै दशा खराब (आफ्नै श्रीमान्ले हेप्यो भने अरुले पनि हेप्ने रहेछन् । के भयोभयो, मेरै भाग्य खराब) ।
छहारी संवाददाता
१८ असार २०७७, बिहीबार १५:००

कैलाली । संगै मर्ने र संगै जिउने कसम खाएका श्रीमान्ले हरेक काम कुरामा खोट देखाउदै चोट दिन थाले । आमा समान मानेकी सासूको विनासित्तिको टोकसोको त झन् के कुरा गर्नु र !

पहाडको ठाउँ, पाखुरा नबजाएर पेट पाल्न मुस्किल । टाढाटाढा पुगेर खेतबारी, बस्तुभाउ र दाउरा घाँस गर्नै पर्ने । त्यसैमाथी दिनभरी थाकेको शरीरले सधैंजसो श्रीमान् र सासूको कुटाई सहनु परेपछि अन्ततः अछामको तुर्माखाद गाउँपालिकाकी उनको मानसिक सन्तुलन नै गुम्यो ।

उनी एकोहोरो टोलाइरहने, बर्बराउने, आत्महत्या गर्न खोज्ने, डराउने, रुने, कराउने, काप्ने गर्न थालिन् । बिहे गर्दा सामान्य अवस्थाकी उनमा दिनदिनै यी समस्या बढ्दै जादा परिवारको माया र स्नेह भने झन्झन् कम हुँदै गयो ।

उनमा यस्तो समस्या आउनुको कारण खोतल्दा भनिन्, ‘आफ्नाइ बैकानले हेला गर्‍यापछि अरुले पन हेप्न्या रैछन् । क्या भयोभयो, मेरै दशा खराब (आफ्नै श्रीमान्ले हेप्यो भने अरुले पनि हेप्ने रहेछन् । के भयोभयो, मेरै भाग्य खराब) । उनले श्रीमान् र परिवारको निरन्तरको कुटाई र हेपाईले आफ्नो यो हालत भएको उनले बताइन् ।

मरिमरी काम गर्दा, के राम्रो के नराम्रो, के गर्ने के नगर्ने छुट्टाउन सक्ने स्वस्थ अवस्थामा त श्रीमान्को घरमा रुचाइनन्, मानसिक सन्तुलन बिग्रेपछि त झन् कस्ले रुचाउनु र ? आज सुध्रिएलान्, भोलि सुध्रिएलान् भनिएका व्यवहारहरू झन्झन् क्रूर हुँदै गए । श्रीमान्को घर उनका लागि नर्क समान हुन थाल्यो । उनको यस्तो मानसिक अवस्थाका कारण श्रीमान्को घरमा उनीमाथि असुरक्षा देखेपछि छिमेकी स्वयम्सेविकाले गत भदौ महिनामा उनलाई जिल्ला सदरमुकाम मंगलसेनमा रहेको माइती जाने सल्लाह दिइन् ।

छोरीको अवस्था बारे माइतीलाई थाहा रहेनछ । उनलाई देखेर माइती निकै दुःखी भए । देउताका कारण यस्तो भएको अड्कल काटियो । उनको अवस्था सुधारका लागि आफूले जानेबुझेका धामीझाँक्रीकोमा लगियो । तन्त्रमन्त्र, झारफुक केही बाँकी राखिएन । तर पनि उनी पहिलाको अवस्थामा फर्किन सकिनन् । एकोहोरो टोलाइरहने, बर्बराउने, आत्महत्या गर्न खोज्ने, रुने, कराउने, काप्ने गर्न छाडिनन् ।

धामीझाँक्रीको पछि लाग्दा उनलाई निको हुने कुनै लक्षण देखिएन । माइती पक्ष पनि निरास हुँदै थिए । एक जना अधिकारकर्मीले उनका आमाबुबालाई मानसिक समस्या भएको हुन सक्ने र त्यसका लागि सदरमुकाममा रहेको सुरक्षित गृह (सेफ हाउस) ले उपचारमा सहयोग गर्ने गरेको बताइन् । उनी अधिकारकर्मीको सहयोगमा सेफ हाउस पुगिन् । उनको अवस्था र लक्षण देखेर सेफ हाउसकी परामर्शदाता पार्वती बोहराले उनलाई देउता लागेको नभई, मानसिक रोगको उपचारको खाँचो रहेको राय सुझाव दिइन् । र सेफ हाउसकै पहलमा जिल्लाको न्याय हेल्थ अस्पताल बयलपाटा पु¥याएर उपचार थालेपछि बल्ल आफू निन्द्राबाट बिउझिए झैँ भएको उनले बताइन् ।

‘त्यो पीडा त सुनाएर साध्य छैन मिस । कति कुटाई खाएँ, कति गाली पाएँ, भनेर केही फाइदा छैन । मेरो जस्तो दुःख शत्रुलाई पनि नहोस्’ उनको विगत कोट्याउदा गला अवरुद्ध पार्दै उनले सुनाइन्, ‘बाचिन्छ भन्ने लागेकै थिएन । सेफ हाउस भगवान बनेर आएछ ।’ अहिले आफूलाई सञ्चो भएको पाउँदा निकै खुशी लागेको उनले बताइन् ।

सेफ हाउसको सहयोगमा उनलाई नियमित औषधि र परामर्श शुरु गरेपछि सञ्चो भएको र उनी औधी खुशी भएको परामर्शदाता पार्वती बोहराले बताइन् ।

अछामको मंगलसेन नगरपालिकाबाट जिल्लाकै तुर्माखाँद गाउँपालिकामा प्रेम विवाह गरेकी २३ वर्षीया उनले नागरिकता र विवाह दर्ता गर्न माग गरेपछि श्रीमान् र सासूको यातना शुरु भएको स्मरण गरिन् । त्यही कुरालाई लिएर बढेको चोटले आफूलाई पूर्ण रुपमा मानसिक रोगी बनाएको उनले बताइन् ।

उनी यतिखेर शारीरिक र मानसिक रुपमा पूर्ण स्वस्थ छिन् । नियमित औषधि सेवनका कारण अवस्था सुधार हुँदै गएको छ । उनको अवस्था राम्रो हुँदै गएको थाहा पाएपछि विगतमा अपमान गर्ने ससुरा उनलाई घर फर्किन भन्दै उनको माइती पुगे । आफूहरूबाट गल्ती भएको र आफूहरूकै टोकसोले गर्दा उनलाई देउता नभई रोग लागेको स्वीकार गर्दै उपचार गरेर सामान्य अवस्थामा ल्याइदिने सेफ हाउसलाई धन्यवाद दिए ।

गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका उनका ससुराले उनी, उनका माइती र सेफ हाउससंग अबदेखि गल्ती नदोहोरिने प्रतिवद्धता गरे । उनले सेफ हाउसबाटै आफूसंग डेढ वर्षदेखि सम्पर्कमा नरहेका श्रीमान्लाई भारतमा फोन गरिन् । उनले पनि गल्ती स्वीकारे । र चाँडै घर फर्किने बताए । माइतीको पहलमा सेफ हाउसले तीन महिनाको औषधि दिएर चैत्र महिनामा उनको विदाई गर्‍यो ।

उनी आफ्नो र नाबालक छोरीको हेरचाह आफै गर्न सक्ने र सहजै भन्न बोल्न सक्ने भएकी छन् । सेफ हाउसकी परामर्शदाता बोहराले भनिन्, ‘केही समस्या भयो, तलमाथि भयो भने सिधै मलाई फोन गर्न भनेकी छु । अहिले ठिकै छ होला ।’

                                                ……..

मंगलसेन नगरपालिकाकै एक महिलाले पनि मदिरा सेवन गरेर दिनहुँ कुट्ने श्रीमान््बाट कुनै दिन मुक्ति पाइएला भन्ने सोचेकै थिइनन् । २०५५ सालमा १५ वर्षको उमेरमा चिनजानकै व्यक्तिसंग बिबाह भएपछि चार छोरी जन्माएकी उनले छोरा नजन्माएको निहुँमा त कति हेला सहनु पर्‍यो पर्‍यो।

श्रीमान् केही काम नगर्ने । श्रीमतीले मजदूरी गरी कमाएको दुई चार सय रुपैयाँ पनि रक्सीमा उडाउने र सधैं श्रीमती कुट्ने । छोरीहरूमाथिको टोकसो पनि उस्तै । गरिवी र अभावसंगै श्रीमान्को यातना पनि कम नभएपछि उनले श्रीमान्संग छुट्टिएर छोरीसंगै अलग बस्न थालिन् । अहिले उनी श्रीमान्संग छुट्टिएको र उनको शरीरले चोटबाट मुक्ति पाएको सात वर्ष भो ।

‘ती दिन सम्झिदा अहिले पनि दिमागले काम गर्दैन’ उनले भनिन्, ‘दारुको मात चढेपछि सबै रिस मेरैमाथि पोख्थे । हुँदै नभएका आरोप लगाउँथे । मरौं कि बाँचौं हुन्थ्यो !

उनी छुट्टै बस्न थालेपछि श्रीमान्ले दोस्रो विवाह गरेर भारत हिँडे । त्यसपछि चार छोरी र उनको जीवनमा झन् धेरै दुःखका दिन आए । खाने, लाउने र छोरी पढाउने बारे जहिल्यै अभाव भइरहन्थ्यो । दिनभरी मजदूरी गरेको पैसाले पुग्ने कुरै भएन । त्यो बेला कयौं दिन भोकै बसिन् उनी ।

एकातिर छोरी पाल्ने, पढाउने चिन्ता, अर्कोतिर गरिवी । अति गरिवीसंग जुध्दै सबै भूमिका एकल रुपमा निर्वाह गर्नु परेपछि उनलाई विगतको पीडा झन् बल्झिन थाल्यो । उनले आफूलाई सम्हाल्न सकिनन् । आफू मानसिक रुपमा पनि ठिक नभएको महसूस गर्न थालिन् । तर सामाजिक वहिष्करणको डरले लामो समय आफ्नो समस्या खोल्न सकेकी थिइनन् । मनको पीडा कहाँ पोखौं भन्ने कुरा उनको मनमै खेलिरहन्थ्यो । यहीँ बीचमा अरुको सहयोगले मंगलसेनमा रहेको सेफ हाउसमा पुगेकी उनको अवस्था अहिले विगत जस्तो छैन ।

सेफ हाउसले उनको मानसिक अवस्था बुझेर मनोसामाजिक सेवा दियो । औषधिपोचार र पराशर्म शुरु गरेपछि उनी पहिलेकै अवस्थामा फर्किइन् । यतिबेला उनी उपचारसंगै सेफ हाउसमार्फत उपलब्ध गराइएका बाख्रा पालन गरेर छोरी पढाउने र घरको सबै खर्च आफै धान्ने भएकी छन् । अब भने उनलाई न त विगतमा रक्सी खाएर दिनरात कुटपिट गर्ने श्रीमान्को बारेमा सोचेर पीडा हुन्छ, न त सानोतिनो घर खर्चको । आफू सञ्चो भएपछि छोरीहरूसंग सन्तोषको सास फेरिरहेको उनले बताइन् ।

                                                ……..

अछामको साँफेबगर नगरपालिकाकी एक महिलाले पनि लामो समय झेल्नु परेको घरेलु हिंसाबाट मुक्ति पाएकी छन् ।

१४ वर्षको उमेरमा कञ्चनपुर विवाह गरेकी बिमलाका श्रीमान्ले दोस्रो विवाह गरेपछि सुरु भएका दुःखका दिन उनको सेफ हाउसको यात्रासंगै टुंगिएका छन् ।

श्रीमान्ले सौता भित्र्याएपछि उनलाई हेला र कुटपिट गर्न थाले । श्रीमान् नै आफ्नो नभएपछि अरुले राम्रो गर्ने कुरै भएन । एकातिर श्रीमान्, अर्कोतिर सौताको दुव्र्यवहारले उनलाई घरमा बस्ने अवस्था भएन । अन्ततः उनी माइती पुगिन् । तर त्यतिबेलासम्म उनको मानसिक अवस्था अस्वस्थ भइसकेको थियो । तर मानसिक रोगको उपचार हुन्छ भन्ने नबुझेको समाजमा उनले आफ्नो पीडा लुकाउदै गइन् । अरुले थाहा पाए सडकमा पठाउछन् भन्ने डरले कसैलाई भनिन् ।

यही बिचमा उनी सेफ हाउसको सम्पर्कमा पुगिन् । त्यहाँ उनलाई लामो समयसम्म परामर्श र औषधिपोचार गरियो । विगतको पीडा भुलाउन सिलाई कटाईको तालिम दिइयो ।

अहिले बिमला विगत जस्तै स्वस्थ छिन् । सिलाईकटाईको काम गर्छिन् । उनको जीवन राम्रैसंग चलेको छ । सेफ हाउसमार्फत पाएको खुशीले उनी दंग छिन् ।
आफ्नैले दिएको पीडाका कारण कुनै बेला आफैलाई यी महिलाहरू त उदाहरणीय पात्र मात्रै हुन् । सेफ हाउसमा पुगेर उनीहरू जस्तै समस्याको गाठो फुकाउँदा पुनर्जीवन पाएका महिलाहरू अछाम जिल्लामा मात्रै एक सय ८४ जना छन् ।

सन् २०१६ देखि हालसम्म संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए) सुरक्षित गृह (सेफ हाउस) मंगलसेन र एकद्घार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत सेफ हाउसमा आएका उनीहरू मध्ये सबैभन्दा बढी मानसिक सन्तुलन गुमाएका महिलाहरू थिए ।

मनोपरामर्शदाता पार्वती बोहरा

बाहिर खुल्न नसकेका उनीहरूको अवस्था लामो समयको परामर्श र औषधिपोचार पछि सुध्रिएको परामर्शदाता पार्वती बोहराले बताइन् । उनीहरू मध्ये कोही परिवारमा त कोही समाजमा पुनःस्थापित भएर सहज र सुखी जीवन बाँचिरहेको सेफ हाउस अछामका परामर्शदाता पार्वती बोहराले जानकारी दिइन् ।

परामर्शदाता बोहराका अनुसार आफ्नै घरभित्र सासू, ससुरा, श्रीमान् लगायतले दिने यातना बढ्दै गएपछि, उचित माया र आफ्नोपन नपाएपछि महिलाहरूमा मनोसामाजिक समस्या उत्पन्न हुन्छ ।

यदि सामान्य व्यक्तिमा असाधारण लक्षणहरू जस्तै; एकोहोरो टोलाइरहने, बर्बराउने, आत्महत्या गर्न खोज्ने, डराउने, रुने, कराउने, काप्ने जस्ता लक्षणहरू दुई हप्तासम्म पनि देखिन छोडेनन् भने मानिस मानसिक रोगी हुन पुग्छ । उनको सुझाव छ, ‘यदि आफ्नो चिनजान, नातागोता वा कसैमा यस्ता खालका अस्वाभाविक लक्षणहरू देखिए र बढीमा दुई हप्तासम्म निको भएनन् भने देउता लागेको ठान्े, धामीझाँक्रीको भर पर्ने वा अन्य कुरामा विश्वास गरेर समय खेर फान्नै हुन्न । जति सकिन्छ चाँडो परामर्शदाता र चिकित्सकसंग सल्लाह लिनुपर्छ । र आवश्यकता अनुसार औषधिपोचार गर्नुपर्छ ।

तर अछाममा कुनै व्यक्तिमा यस्ता खालका लक्षण देखिए उसको उपचार गरी सञ्चो बनाउनुको सट्टा पागल भन्दै अपमान र हेला गर्ने र छीछी, दूूरदूर गर्ने गरिन्छ ।

परामर्शदाता बोहरा हिंसाको दलदलबाट उम्किन नसकेका, हिंसाविरुद्ध लड्दा लामो समयसम्म न्याय नपाएका, घर समाजबाट बहिष्करणमा परेका, कसैको माया नपाएका, मायामा धोका पाएका महिलाहरूमा मनोसामाजिक समस्या उत्पन्न भई समयमा उपचार नपाउदा मानसिक रोग उत्पन्न हुन्छ । अछाममा महिलाहरूमा यस्तो रोग देखिनुको प्रमुख कारण घरेलु हिंसा नै भएको पाइएको उनको बुझाइ छ ।

सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक समस्या नभएको होस् । २०७३ साल असोजमा स्थापना भएको सेफ हाउसमा आएका करिब ३० प्रतिशत महिलाहरूलाई शुरुमै मानसिक रोगको औषधि खुवाउनु परेको र उनीहरू घरेलु हिंसाबाट पीडित रहेको पाइएको उनले बताइन् ।

साथै परामर्शदाता बोहराले तनावका कारण मानसिक रोग लाग्ने भएकाले तनाव व्यवस्थापनका लागी दिएका सुझाव यस्ता छन्;
– मन मिल्ने व्यक्तिसँग मनको कुरा पोख्ने ।
– हिँडडुल गर्ने, प्राकृतिक वातावरणलाई अवलोकन गर्ने ।
– नियमित शारीरिक व्यायाम गर्ने ।
– नुहाउने ।
– ध्यान गर्ने, प्राथना गर्ने ।
– आफूलाई मन पर्ने गीत संगित सुन्ने ।
– आफ्नो भावना बारे कविता, गजल, दैनिकी तथा लेख लेख्ने ।
– टाढा बसेका साथी वा नातेदारसँग फोनमा कुरा गर्ने ।
– ज्ञानबर्धक पुस्तकहरू पढ्ने ।
– धार्मिक तथा सामाजिक कृयाकलापकमा सहभागी हुने ।
– आफूले गरेका क्रियाकलाप तथा कामहरूका लागि आफूले आफैलाई धन्यवाद दिने ।
– दैनिक केही न केही सकारात्मक काम गर्ने कोशिस गर्ने ।
– मनोरन्जनात्मक कार्यमा सहभागी हुने ।
– पुराना रुढिवादी कुरा जुन वर्तमानमा झुटा साबित भएका छन्, तिनमा विश्वास नगर्ने ।
– हरेक काममा खुशी हुने, । सन्तुष्ट र खुशी बन्न सिक्ने ।
– जीवनका रमाईला क्षणहरू याद गर्ने ।
– काम गराईमा सन्तुलन कायम गर्ने ।
– आफ्नो मनलाई बशमा राख्ने ।
यति गर्दा पनि तनाव व्यवस्थापन गर्न नसकेमा मनोबिमर्शकर्ताको सहयोग लिने । (पत्रकार चौधरी थारु र नेपाली भाषाको डिजिटल पत्रिका केर्नी न्यूज डटकम संचालन गर्नुहुन्छ ।) साभारः महिलाखबर डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*