फाल्गुन तीन गते सुरु हुने तेस्रो बागमती गोल्डकपको तयारी पुरा
मकवानपुरको पुर्वी बागमती गाउँपालिकामा आउँदो फागु तीन गतेदेखि हुने तेस्रो बागमती गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै फाल्गुन १३ गते सम्म हुने गोल्डकपको तयारी पुरा भएको बागमती खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिताका संयोजक अरुण बलले जानकारी दिनु भयो ।
बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा प्रतियोगितामा हुन लागेको हो ।
बागमती गाउँपालिका ८ स्थित जनता माविको खेल मैदानमा हुने गोल्डकपको लागि मैदान निर्माण, प्याराफिट निर्माणको काम सकिएको आयोजकले जानकारी दिएको छ । गोल्डकपमा प्याराफिट र खुल्ला स्थानमा बसेर एकैसाथ ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् ।
प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लब खेल्ने संयोजक बलले जानकारी दिनु भयो ।
त्यस्तै मोफसलका मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिमले प्रतिस्पर्धा गर्ने छन् । गोल्डकपको विजेताले ६ लाख नगद पाउने छ भने उपविजेतले ३ लाख हात पर्ने संयोजक बलले जानकारी दिनु भयो ।
गोल्डकपका सर्र्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउने बलले बताउनु भयो ।
प्रतियोगिताको विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरुद्धारा वेजोड प्रस्तुती सहित झाँकीहरु समेत प्रस्तुत गरिनेछ भने प्रतियोगिताको उद्घाटन माननीय गृहमन्त्री रामबहादुर थापले गर्नुहुनेछ ।
पत्रकार सम्मेलनमा बागमती खेलकुद विकास समितिका कोषाध्यक्ष बिरेन्द्र समाल,नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताव विष्ट, महासचिव कृष्णशारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष सुदिप शिवाकोटी, न्यूज क्लव नेपालका अध्यक्ष धर्मेन्द्र दाहाल, खेलकुद विकास समितिका केन्द्रिय सदस्य अध्यक्ष माधव तिमल्सिना, कार्यालय प्रमुख राजन दाहाल(खुशराज) लगायतको आथित्यता रहेको थियो ।





