विजय यूथ क्लव हेटौंडाले माघ २० गतेबाट फुटसल प्रतियोगिता गर्ने

विजय यूथ क्लव हेटौंडाको आयोजनामा यहि माघ २० गतेबाट फुटसल प्रतियोगिता हुने भएको छ । जिल्लामा नयाँ खेलाडी उत्पादन र युवाहरुको बीचमा भ्रातृत्व विकासको उदेश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमशः नगद १ लाख र ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बिजय यूथका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए । प्रतियोगितामा सहभागिता हुन चाहने क्लवले ८ हजार रुपैयाँसहित टिम दर्ता गर्नुपर्ने हुन्छ । नकआउटको आधारमा खेलाइने प्रतियोगितामा सहभागी हुने टिममा ८ जना खेलाडी हुनुपर्नेछ जसमा दुईजना बाहिरका खेलाडी राख्न पाइने ब्यवस्था गरिएको छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद ३ हजारसहित ट्रफी प्रदान गरिने क्लवका सचिव राजेश भेटवालले जानकारी दिए । प्रतियोगितामा जिल्लाभित्रका क्लवले मात्र सहभागिता जनाउन पाउने छ ।
मकवानपुरको प्रतिनिधित्व गर्दै विभिन्न गोल्डकपमा सहभागिता जनाइसकेको बिजय यूथले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो । खेलमा करिब २० टिमको सहभागिता हुने आयोजकको अपेक्षा रहेको छ ।





