पुलिस एमएम कपको सेमिफाइनलमा
विभागीय टिम नेपाल पुलिस क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इनरुवामा आज भएको समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई ४६ रनले पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो ।
इनरुवा रंगशालामा पुलिसले दिएको १ सय ८४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभर २ बलमा अलआउट हुँदै १ सय ३७ रन बनाउन सक्यो । प्रदेश २ का लागि विशाल सुलिङले ८० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
हरि शंकर साहले १८ तथा हसिम अन्सारीले १० रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभर १ बलमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो । पुलिसले २ खेलमा २ जितसहित ४ अंक जोड्यो । पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई हराएको थियो ।





