छोरा जन्माउन पटक पटक गर्भपतन

शारीरिक रुपमा कमजोर हुने, पाठेघरमा क्यान्सर हुने, विभिन्न संक्रमण हुने, पाठेघर खस्ने, बाँझोपनको समस्या लगायत ज्यानै जाने हुँदा समेत छोराको आसमा पटक पटक गर्भपतन गराउने महिला उल्लेख देखिन्छन् ।
छहारी संवाददाता
८ जेष्ठ २०७४, सोमबार ०३:५१

डीबी विष्ट

""बझाङकी सुस्मिता लामा उमेरले भर्खर २५ वर्ष पुगिन् तर, उनको चालढाल उमेर ढल्केकी महिलाको जस्तो देखिन्छ । नहुन् पनि किन ? उनले गत एक वर्षको अवधिमै दुईपटक गर्भपतन गरिसकेकी छिन् । दुवैपटक छोरीको गर्भ बसेकोले उनले गर्भपतन गरेकी थिइन् । पहिलो सन्तानको रुपमा छोरी जन्मिसकेकोले उनलाई अब छोरा नै जन्माउनुपर्ने परिवारिक दबाब छ । हाल उनी फेरी गर्भवती भएकी छन् । गर्भमा छोरी भए, फेरी पनि आफू गर्भपतन गर्न बाध्य हुने उनको भनाइ छ ।

छोराको आसमा पटक पटक असुरक्षित गर्भपतन गर्नेमा मीना बोहरा (२९) पनि हुन् । गर्भपतन गरेको श्रीमानलाई थाहा भएपनि उनी आफ्नो शारीरिक कमजोरी बाहिर देखाउन सक्दिनन् । भन्छिन्, ‘समाजका अघि केही नभएको जस्तो बहाना गर्नुपर्छ । घाँस, दाउरा गर्न जाँदा त्यहीँ आराम गर्छु, घरमा समेत अरुले थाहा पाए नराम्रो ठान्छन् ।’

आफूखुसी गर्भपतन गराउँदा नानी विष्ट (२५) ले गत महिना झण्डै ज्यान नै गुमाउनु परेको थियो । उनका पनि छोरा छैनन् । गर्भपतनपछि अत्याधिक रक्तस्राव हुँदा उनको ज्यान जोखिममा परेको थियो । उनलाई जिल्ला अस्पताल सीमखेतका तत्कालीन कार्यालय प्रमुख डा.विष्णु खतिवडा र डा.आनन्द सिंहले आफ्नै रगत दिएर बचाएको अस्पतालका तत्कालिन मेडिकल अधिकृत डा.मिलन सिलवाल बताउँछन् ।

डा.सिलवालका अनुसार सामान्यतया रगतको मात्रा १२ ग्राम प्रतिशत हुनपर्नेमा त्यतिखेर विष्टको शरीरमा रगतको मात्रा ३.२ ग्राम प्रतिशत मात्र रहेको थियो । ‘त्यस्तो अवस्थामा रगत उपलब्ध नभएको भए उनको ज्यानै जान सक्थ्यो’, डा. सिलवाल भन्छन् ।

""

जोखिमपूर्ण गर्भपतनले जयपृथ्वी नगरपालिकाकी रामकला नेपाली (२९) भने बाँच्न सकिनन् । जिल्ला अस्पतालका इन्डोर इन्चार्ज लक्ष्मी शाहीका अनुसार सुरक्षित गर्भपतन गरेको केही महिनामै असुरक्षित तवरले गर्भपतन गराउँदा उनको अत्याधिक रक्तश्राव भएको थियो । यहि कारणले अस्पताल पुग्न नपाई उनको ज्यान गएको इन्चार्ज शाही बताउँछन् । धेरैपटक गर्भपतन गराउँदा अस्पतालले उनलाई ध्यान दिन थालेकोले रामकलाले आफूखुसी औषधी सेवन गरेको हुनसक्ने उनको अनुमान छ ।

जति नै सुरक्षित भएपनि पटक पटक गर्भपतन गराउँदा महिलाको स्वास्थ्य जोखिममा पर्ने गर्छ । गर्भपतनका कारण पाठेघरमा विभिन्न खाले संक्रमण हुने, तल्लोपेट र कम्मर दुख्ने, पाठेघरमा क्यान्सर हुने, रगतको कमी भएर एनिमिया रोग लाग्ने, पाठेघर खस्ने, बाँझोपन लगायतका समस्या हुने जिल्ला अस्पताल बझाङकी स्वास्थ्यकर्मी लक्ष्मी शाही बताउँछिन् । यसमाथि पटक पटक बच्चा फ्याल्नुपर्दा महिलामा आत्मग्लानी तथा मानसिक तनाव पनि उत्तिकै हुने गर्छ ।

यसरी गर्भपतन गराउँदा महिलाको शारीरीक अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ भने कामको बोझ पनि उत्तिकै देखिन्छ । पोषिलो खाना खान नपाउने र सुत्केरीले जस्तो आराम नपाउने हुँदा महिलालाई सास्तीमाथि सास्ती भइरहेको अधिकारकर्मीहरुको भनाइ छ।

गर्भपतन गराउँदा त्यतिबेला मात्र कमजोरी भएको महसुश गर्ने नानी विष्ट अहिलेसम्म आफू स्वस्थ हुन नसकेको बताउँछिन् । ‘धेरैपटक गर्भपतन गराएका कारण अहिले २५ वर्षे जवानीमै पहिले जस्तो काम गर्न नसक्ने भएकी छु । भारी बोक्दा  र घरको सामान्य काम गर्दा पनि रिँगटा लाग्ने,  कम्मर दुख्ने, तल्लो पेट दुख्ने हुन्छ । यो त अकालमा ज्यान गुमाउनु सरह रहेछ’, विष्ट भन्छिन् ।

""

गर्भको लिंग पहिचान गर्नु अवैधानिक भएकोले जिल्लाका अधिकांश महिला भारतको उत्तर प्रदेशको पाेलिया भन्ने ठाँउका स्वास्थ्य केन्द्रमा जाने गर्छन् । बझाङबाट दुई दिनमा पाेलिया पुग्न पुग्न सकिन्छ भने धनगढीबाट चार दिन लाग्ने गरेको छ । अहिले बझाङ जिल्लाबाट मात्रै त्यहाँ गएर गर्भ जाँच गराउनेहरु दैनिक १०/१२ जना हुने गरेको महिलाहरु नै बताउँछन् ।

पाेलियामा रहेका विभिन्न मेडिकल तथा अस्पतालमा जानुको मुख्य उदेश्य नै गर्भको लिंग पहिचान गर्नु देखिन्छ । यस्तो गर्नेमा अनपढदेखि शिक्षित महिलाहरु समेत छन् । तर, त्यहाँ गर्भपतन गराउन महंगो शुल्क तिर्नुपर्ने र नेपालमा गर्भपतनका औषधीहरु सहजै उपलब्ध हुने भएकोले अधिकांशले नेपालमै आएर गर्भपतन गर्ने गर्छन् । यसले गर्भको भ्रुण पहिचान भएपछि गर्भपतन भइरहेको र महिलाको स्वास्थ्य समेत अत्यन्त जोखिमपूर्ण बनाएको देखिन्छ ।

पाेलिया जानेमध्येकी एक आमा हुन् दिलु भण्डारी (२६) । उनको साथमा ४ वर्षिया छोरी छिन् । छोरी जन्मेदेखि उनलाई छोरा जन्माउने दबाब आएकोले उनले अहिलेसम्म तीनपटक गर्भपतन गरिसकिन् । हुर्किसकेकाे भ्रुण फाल्न उनले अाफूखुसी अाैषधी समेत खाएकी थिइन् ( हे‍. वक्स) । 

‘तीन महिना भन्दा बढी भइसके पछि मात्र छोरा छ की छोरी भनेर राम्रो सँग जान्दो रहेछ । म सँगै तीन, चार जना साथीहरु गएका थिए तर, एकजनाको मात्र छोरा रहेछ’, आफ्नो अनुभव सुनाउँदै दिलु भन्छिन् ।

तीनवटै गर्भको लिंग पहिचान उनले पाेलिया गएर गरेकी थिइन् । ‘छोरा नभए अपुतो भन्ने प्रचलन छ, अनि बुढेसकालको सहारा पनि छोरा हो भन्छन् । त्यही भएर पनी छोरी भन्दा छोरा नै आवश्यक छ’, उनी भन्छिन् ।

जिल्ला अस्पतालमा समेत गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भन्दिनुपर्यो भन्दै महिनामा १०, १५ जना महिला आउने गरेको इन्र्चाज शाहीको अनुभव छ । यसरी छोरा पाउन खोजेका महिलाले पटक पटक गर्भपतन गर्दा पछि उनीहरु पाठेघरको समस्या लिएर आउने गरेको उनको भनाइ छ ।

छोरी जति नै जन्माएपनि छोरा नजन्मेसम्म सन्तान जन्माइरहने यहाँको चलन नै देखिन्छ । यस्तोमा खासगरी छोरा नभएसम्म महिलाले गर्भपतन गरेको भेटिन्छ । कोही सासू ससुरा र समाजको डरले गर्भपतन गराउन बाध्य छन् भने कोही श्रीमानको खुसीका लागी । कोही भने देखासिकी र आफ्नो चाहना पूरा गर्नका लागि वर्षैपिच्छे गर्भपतन गरिरहेका देखिन्छन् । छोरा नहुनुमा सन्तान जन्माउने आमालाई नै दोषी देख्ने अशिक्षित समाजका कारण पनि यस्तो गर्भपतनले प्रश्रय पाएको देखिन्छ ।

कतिले भने छोरा नजन्मेसम्म सन्तान जन्माउँदा परिवारमा छोरीको संख्या अत्याधिक देखिन्छ । स्थानीय आशा बोहरा (४५) छोरा पाउने आशै आशमा ६ वटा छोरी जन्मिएको र अन्तिम पटक छोरा भएपछि मात्र सन्तान जन्माउन छाडेको सुनाउँछिन् ।

हरीना नेपाली (४३) को पनी ९ वटा छोरी जन्मिसकेका छन् । तर, अहिलेसम्म छोरा नजन्मिएकोले उनले सन्तान जन्माउन छाडेकी छैनन् । अहिले पनि हरिना दुई जीउकी छन् । ‘भएको सम्पत्ति कसलाई दिने ? छोरा जन्मिए काजकिरीया गर्ने थियो, अपुतो रहनुपर्ने थिएन । समाजले कुरा काट्न पनि पाउने थिएन’, आँखामा आँशु टिलपिल पार्दै हरिना भन्छिन्, ‘मलाई त हजुर, गाँउकाले अलच्छिनी पनि भन्न थालीसके, श्रीमानले पनि कुट्न छोड्ने होइन । यो पटक त छोरा होला भन्ने आशा छ ।’

( पीडित महिलाहरुकाे नाम परिवर्तन गरिएकाे छ।)

( विष्ट, बझाङका पत्रकार हुन्।), साभार : महिला खबर ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*