फागुन १५ गते मगर संघले फुड फेस्टिभल सहित साँस्कृतिक कार्यक्रम गर्दै

नेपाल मगर संघ मकवानपुरले आफ्नो ४३ औं स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ । फागुन १५ गते हेटौंडा–४ हुप्राचौरमा विशेष कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाउने तयारी गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रम, मगर संस्कृति झल्कने झाँकी, र्यालीका साथै फुड फेस्टिभलको पनि आयोजना गरिएको मगर संघ मकवानपुरका अध्यक्ष सन्देश मगरले जानकारी दिनुभयो । औपचारिक कार्यक्रम सुरु हुनुभन्दा अगाडी हेटौँडाको बुद्धचोकबाट झाँकी सहितको ¥याली सिमाचोक सितलमहल चोक हुदै कार्यक्रम स्थल हुप्रचौरमा प्रवेश गर्ने अध्यक्ष मगरले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन हुने बताइएको छ ।
कार्यक्रममा लोकगायिका राधिका हमाल, पुन मगर, शशि पुन मगर लगायत स्थानीय कलाकारहरुबाट मनोरञ्जनात्मक प्रस्तूति रहने बताइएको छ । कार्यक्रममा सोरठी, कौडा, सालैजो र घाटु नाच समेत प्रस्तूत हुने आयोजकले जनाएको छ । २०७८ सालको जनगणना अनुसार मकवानपुर जिल्लामा मगर समुदायको जनसंख्या २० हजार ८ सय रहेको छ । कार्यक्रम सम्पन्न गर्नका लागि करीब ५ लाख रुपैयाँ अर्च हुने आयोजकको अनुमान छ ।