हेटौंडा गोल्डकपः उपाधिका लागि आयोजक हेटौंडा र भरतपुर भिड्दै
हेटौंडा गोल्डकप फुटबलमा आज उपाधीका लागि आयोजक एफसी विजय युथ क्लब हेटौंडा र सेन्ट्रल कलेज विएसी भरतपुर भिड्ने भएका छन् ।
यी दुईबीचको खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ । हेटौंडाको फरेष्ट्री क्याम्पसको खेल मैदानमा जारी प्रतियोगिताको बुधबार भएको दोस्रो सेमिफाईनलमा आयोजक टिम विजय युथ क्लबले बागमती युवा क्लब, सर्लाहीलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
यसअघि मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा हर्दि युवा समाज राप्तीलाई १–० गोल अन्तले पराजित गर्दै सेन्ट्रल कलेज फाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागत रुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।





