कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ७१ पुगेको छ ।
यस्तै मंगलबार १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमित ५६ हजार सात सय ८८ पुगेका छन् । २४ घण्टामा १० हजार तीन सय ७५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ५९ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैबीच, पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ । अब नेपालमा १५ हजार सात सय ७९ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ७ हजार दुई सय ५० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।