सरकारले विदेशबाट घर फर्कनेलाई देशमै केही गर्न सक्ने सपना दिन सक्नुपर्छ
अहिले वैदेशिक रोजगारीमा गएका मानिसलाई दुई कुराको चिन्ता छ ।
दोस्रो – रोगबाट बाँचिहाले पनि भोकले मरिएला भन्ने चिन्ता । त्यसैले अहिलेको अवस्था संवेदनशिल छ । यहीबीचमा अहिले धेरैजना नेपाल अर्थात आफ्नै देश फर्कन पाएँ हुन्थ्यो भनेर बसेका छन् । याेजना आयोगले गठन गरेको एक कमिटीको अध्ययनले ५ देखि ६ लाख मानिस विदेशबाट फर्कने अनुमान गरिएको छ । भारतबाहेक नै १२ हजारभन्दा मानिस आइसके । तर अब महत्वपूर्ण कुरा भनेको उनीहरुलाई काममा कसरी जोड्ने भन्ने हो ।
पहिलो कुरा त गाउँठाउँमा, देशमा रोजगारी नपाएर वा आम्दानीको बाटो नभएरै हो उनीहरु विदेश गएको छ । अब उनीहरु फर्किंए । पहिलो के थिएन र अहिले महामारीको बेला त्यस्तो के भएको छ र रोजगारी सृजना हुन्छ भन्ने कुरा पनि आउला तर हामीलाई कहिलेकाही बाध्यताले सम्भावनाहरू देखाउँछन् । अहिलेको अवस्था पनि त्यस्तै नै हो ।
अहिले झण्डै पाँच छ लाख नेपाली घर फर्कन अनुमान छ । अर्कोकुरा के छ भने यहीबेला नेपालमा काम गरिरहेका भारतीयहरु यहाँ काम छाडेर आफ्नै देश गएका छन् । उनीहरुले छाडेर गएको काममा पनि अहिले अवसर छ । विदेशबाट फर्कनेले त्यो काम गर्नसक्छन् अथवा सरकारले त्यो काममा लगाउन सक्छ ।
अर्को विकल्प चाहिँ के छ भने, हाम्रोमा देशमा आयात बढी छ । गएको वर्षमा मात्रै २३ अर्ब रुपैयाँ तरकारी विदेशबाट ल्यायौं । १५ अर्बको त फलफुल ल्यायौं । मासुसमेत आयात गर्यौं ।
त्यसैले यी तीन अत्यावश्यक कुरा मात्रै हामीले देशभित्रै उत्पादन गर्न सक्यौं भने मात्रै पनि त्यहाँ थुप्रै रोजगारीहरु सृजना हुन्छ र यसको फाइदा पनि चौतर्फी रुपमा छ ।
फेरि अहिले कोरोनाले के देखाइदियो भने यस्ता अत्यावश्यक बस्तु पनि विदेशबाट नआउने हो भने त रोग र भोगले मर्दा रहेछौं । त्यसैले आधारभूत आवश्यकता देशमै उत्पादन गर्नै पर्छ भनेर पनि देखायो ।
तर यस्ता उत्पादनमा विदेशबाट फर्कनेलाई लगाउनका लागि हामीसँग विशेष प्याकेज हुनुपर्छ । जनु प्याकेजमा ऋण हुन पर्यो, प्राविधिक ज्ञान हुन पर्यो र प्राविधिक सहयोग पनि हुन पर्यो । यसरी प्याकेज दिएर उत्पादन थालियो र भारतीयहरुले छाडेर गएको काममा लगाउन सक्यो भने पनि विदेशबाट फर्कनेले रोजगारी पाउन सक्छन् । नेपालमै पनि सम्भावना छ ।
विदेशबाट फर्कनेलाई एउटा सपना दिन सक्नुपर्छ
अहिले कोरोनाको जोखिमसँगै विदेशबाट फर्कनेमा मनोवैज्ञानिक त्रास छ । देशमा गएर के गर्ने, काम पाइएला नपाइएला भन्ने अन्यौलता छ । तर यता नेपाललाई पनि श्रमिक त चाहिँएको छ । राष्ट्रिय गौरबका आयोजना सक्न छ । विमानस्थलहरु बनाउन छ । खाने पानीदेखि जलविद्युत आयोजनाहरु सक्न छ । त्यसैले त्यो त्रास हटाउनका लागि खासगरी सरकारले र दूतावासले एउटा एप बनाउन पर्यो ।
विदेशबाट आउनुभन्दा पहिले नै उनीहरुको काम, सीप, क्षमता, रुचि लगायत सबै विवरण त्यसमै भर्ने र रोजगारदातालाई पनि त्यही एपमा जोड्ने हो भने विदेशमा हुँदै उनीहरुले कामको खोजी गर्न सक्थ्यें । रोजगारदाताले पनि आफूलाई आवश्यक परे अनुसारको श्रमिक छनोट गर्न पाउथें ।
अहिले विदेशबाट फर्कनेको मनोविज्ञान कमजोर छ । त्यसैले सरकारले यस्तो गर्नुपर्यो ताकी उनीहरुले विदेशबाट फर्कंदा नै देशमा केही गर्ने सपना बुन्दै जहाज चढ्न सकोस् । उनीहरुलाई नेपालले सपना दिन पर्छ । सपना यस्तो दिन पर्यो ताकि उनीहरुले क्वरेण्टीनमा बस्दा पनि आत्महत्या गर्नुपर्ने दिन नआओस् । उसले विदेशबाट आएपछि क्वरेण्टीन हुँदै घरसम्म पुग्दा यही केही गर्न सक्ने खालको योजना बनाउन सकोस् र त्यो वातावरण सरकारले बनाउन पर्यो ।
नभए त लकडाउनको अवधिमा धेरैले आत्महत्या गरे । त्यो सपना नभएर हो । एउटा दिक्दारी पनले हो । त्यसैले विदेशबाट फर्कनेले चाहिँ त्यस्तो भोग्न नपराेस् । सपनामा मेरो भविष्य छ र विपनासँग तालमेल छ, मेरो स्रोत र साधनले यसरी काम गर्छु भनेर योजना बनाउन पर्छ । स्वरोजगार होस् या बेरोजगार सबैलाई यो सपना दिन आवश्यक छ तर अहिलेसम्म भइरहेको छैन ।
काममा सुरक्षाको प्रत्याभूती हुन पर्यो
तीन वटै सरकारले सबैभन्दा पहिला त अहिले विदेशबाट फर्कनेको मनोविज्ञान जित्न आवश्यक छ । कृषिमा लाग्नका लागि संरचनागत समस्याहरु छन् । भूमि वितरणको समस्या छ । यस्तै यस्तै विविध समस्याले युवाहरु विदेश गएका हुन् ।
निमार्ण क्षेत्रमा थुप्रो काम छ । त्यहाँ भारतीय र बंगलादेशले भरिभराउ थिए । त्यो काम तुरुन्त चालुहुन्छ । खाली मैले समुद्रपार गएर आएको मान्छे यहाँ हेलमेट लगाएर के काम गर्छु भन्ने मनोभावना चिर्न जरुरी छ । त्यो काम सरकारले गर्न पर्छ । कामको पनि ग्यारेण्टी गर्न सक्नुपर्छ । १५ दिन काम गरेर १६ दिनमा बेरोजगार हुने अवस्था नआओस् ।
कम्तीमा तीन महिना, ६ महिना रोजगारी हुनेगरी सरकारले सहजीकरण गर्न आवश्यक छ । यहाँ २५ हजारको काम नगर्ने तर त्यही २५ हजारका लागि लाखौं रुपैयाँ तिरेर विदेश जाने नेपालीको मनोविज्ञानलाई चिर्न जरुरी छ ।
त्यसका लागि सरकारले यी काम गर्न आवश्यक छ :
१. यहाँ पनि सुरक्षा हुन पर्यो । हेलमेट पञ्जा के के हुन्छ व्यवसायजन्य सुरक्षा विदेशमा जस्तै नेपालमा पनि हुन पर्यो । काम अनुसारको सुरक्षित वातावरण बनाउन आवश्यक छ ।
२ वीमाको वातावरण हुन पर्यो । त्यो विमा सरकार, पालिका कम्पनीले जसले गर्दा पनि हुन्छ ।
३. बासस्थानको व्यवास्था हुन पर्यो । काम गर्ने स्थानमा श्रमिक सुरक्षित भएर बस्न पनि सकोस् ।
४. सम्मानको वातावरण हुन पर्यो । उसको कामबाट जति कर काटिन्छ त्यसको सम्मान हुन पर्छ । उसको मनोविज्ञान जित्न यस्ता थुप्रै काम तीन तहका सरकारले गर्न आवश्यक छ ।
जुन गाउँपालिकामा, जुन काम चलेको छ त्यही काम दिने र त्यसबापत उसलाई सामाजिक सम्मान दिन सक्नुपर्यो । ताकी विदेशमा कोरोनाको कारण देश फर्किएकाहरू कोरोनाकै कारण फेरि विदेश जान नपरोस् भनेर तीनै तहका सरकारले काम गर्न पर्यो । हैन भने केही समयपछि अहिले विदेशमा समस्यामा परेर फर्किएकाहरू पनि अर्को कामको लोभमा विदेशीनेछन् ।