देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण १५ जनाको मृत्युः गृहमन्त्री शर्मा

गृहमन्त्री जनार्दन शर्माले एक साता यता देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण १५ जनाको मृत्यु भएको संसदलाई जानकारी गराउनु भएको छ ।
प्राकृतिक विपतबाट भएको जनधनको क्षतिबारे बुधबार संसद्लाई जानकारी गराउदै गृहमन्त्री शर्माले बाढी पहिरोका कारण ७ जना बेपत्ता र ५ जना घाइते भएको बताउनु भयो ।
मन्त्री शर्माले पीडितहरूको उद्धार तथा राहत वितरणमा सरकारले कुनै कसर बाँकी नराखेको समेत संसदमा जानकारी गराउनु भएको छ ।
राहत तथा उद्धार कार्यमा सरकार उदासीन देखिएको भन्दै सांसदहरुले सोमबार र मंगलबारको बैठकमा आपत्ति जनाएका थिए ।
गृहमन्त्री शर्माका अनुसार दोलखा, प्युठान, तेह्रथुम र कास्कीमा पहिरोबाट मानवीय क्षती भएको छ। मृतकका परिवारलाई किरिया खर्च र पीडितलाई खाद्यान्न लगायतका सामग्री वितरण र सुरक्षित बासस्थानको व्यवस्था गरिएको समेत उहाँले बताउनुभयो – ‘विपदमा परी घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गरिएको छ । जिल्लास्थित दैवीप्रकोप उद्धार समितिसँग समन्वय गरेर राहत तथा उद्धारलाई प्रभावकारी बनाइएको छ ।’
यस्तै गृहमन्त्री शर्माले स्थानीय तहको तेस्रो चरणको निर्वाचन गराउन सरकार तयारी हालतमा रहेको पनि बताउनु भएको छ । ‘स्थानीय तहको तेस्रो चरणको निर्वाचन राजनीतिक कारणले पछि सरेको हो । सुरक्षा चुनौती छैन । गृहमन्त्रालय सुरक्षाका लागि तयार छ’, उहाँले भन्नुभयो।