पहिलो नम्बरमा नाम समावेश भएकी मुक्तानको सांसद नबन्ने घोषणा

छहारी संवाददाता
चैत्र २, २०८२

राजनीति वृत्तमा पद प्राप्तिका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढिरहेका बेला मकवानपुरकी मन्दिरा मुक्तानले भने प्राप्त अवसर नै त्यागेर फरक उदाहरण प्रस्तुत गर्नुभएको छ ।

श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फ आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा नाम समावेश भएकी मुक्तानले सांसद नबन्ने घोषणा गर्नुभएको हो ।

उहाँको नाम आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा रहे पनि आदिवासी जनजाति समुदायबाट प्रत्यक्षतर्फ निर्वाचित सांसदमार्फत प्रतिनिधित्व सुनिश्चित भइसकेको भन्दै आफूले अवसर त्यागेको बताउनुभयो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य समेत रहनुभएकी मुक्तानले भौगोलिक समावेशितालाई ध्यानमा राख्दै आफूले पाएको अवसर छाड्ने निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार मधेश प्रदेश र कर्णाली प्रदेशको प्रतिनिधित्वलाई समेत समेट्न आवश्यक देखिएकाले समानुपातिक सांसद नबन्ने निर्णय लिइएको हो ।

पैसा लिएर उम्मेदवारी फिर्ता लिएको भन्ने आरोपसमेत आएको उल्लेख गर्दै मुक्तानले त्यो आरोप निराधार भएको बताउनुभयो । पार्टीको हित र समावेशी प्रतिनिधित्वको भावना अनुसार स्वेच्छिक रूपमा नाम फिर्ता लिएको उहाँले बताउनुभयो ।

मुक्तानको स्थानमा मधेश प्रदेशको धनुषाबाट मधेशी क्लस्टर अन्तर्गत रुबी कुमारी ठाकुरलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ । आफू प्रत्यक्ष निर्वाचन लड्न सक्ने क्षमता भएको बताउँदै मुक्तानले आगामी प्रदेशसभा वा स्थानीय तहको निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने तयारी रहेको समेत बताउनुभयो ।

तीन महिनाको अवधिमा राष्ट्रिय पार्टी बन्न सफल भएको श्रम संस्कृति पार्टीले सबै भूगोल र समुदायलाई समेट्नुपर्ने भएकाले यस्तो निर्णय लिइएको उहाँको भनाइ छ ।  पार्टीको दबाबभन्दा पनि आफ्नै इच्छाले उम्मेदवारी फिर्ता लिएको उहाँले स्पष्ट पार्नुभयो ।

हेटौंडा–१९ की मुक्तान विगत एक दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । यसअघि उहाँले करिब आठ वर्ष नेशनल मंगोल अर्गनाइजेशन पार्टीमा केन्द्रीय सदस्यका रूपमा काम गर्नुभएको थियो ।

मकवानपुर जिल्लामा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १ हजार ६ सय २४ र क्षेत्र नम्बर २ बाट १ हजार ४ सय ६७ मत प्राप्त गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*