मकवानपुरमा शुक्रवारदेखि दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव सुरु
मकवानपुरमा दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभएको हो ।
हेटौंडा–१० स्थित टिसिएन चौरमा सुरु भएको महोत्सव चैत्र १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले खेलकुद विकास समितिको कार्य विभिन्न खेल गतिविधिहरु आयोजना गर्ने रहेको बताउनुभयो ।
खेलकुदलाई व्यापार–व्यवसायसँग नजोड्न आग्रह गर्दै जुन उद्देश्यले खेलकुद विकास समिति स्थापना गरिएको हो सोही उद्देश्य अनुरुपको कार्य गर्न आग्ह गर्नुभयो ।
खेलकुदसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश गौरवको योजनाका रूपमा रहेको गौरीटार रंगशालामा थप खेल पूर्वाधार निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो ।
करिब एक अर्ब रुपैयाँ लागतमा रंगशालामा अत्याधुनिक संरचना विस्तार गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने लक्ष्य प्रदेश सरकारले लिएको उहाँले बताउनुभयो । उहाँले खेलाडीहरू समाज र देशकै गौरव भएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२को नतिजातर्फ संकेत गर्दै देशले नयाँ जनादेश प्राप्त गरेको टिप्पणी गर्नुभयो । जनभावनालाई सम्बोधन गर्दै पर्यटन, कृषि र खेलकुद क्षेत्रको विकासमा अब बन्ने संघीय सरकारले विशेष ध्यान दिने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो ।
साथै संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहअस्तित्व र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
१५ दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत विभिन्न ६ विधाका खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।
कार्यक्रमअनुसार फागुन २९ र ३० गते जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता, चैत्र १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, चैत्र ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता, चैत्र ९ र १० गते जिल्लास्तरीय कराँते प्रतियोगिता तथा चैत्र ११ देखि १३ गतेसम्म राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरिनेछ ।
यसै अन्तर्गत बिहान १० किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको थियो । सो प्रतियोगितामा विजयी खेलाडीहरूलाई मुख्यमन्त्री बानियाँले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ ।
महोत्सवबाट बचत हुने रकम जिल्ला खेलकुद विकास समिति मकवानपुरको भवन निर्माण तथा खेल सामग्री खरिदमा खर्च गर्ने लक्ष्य आयोजकले लिएको छ । साथै खेल क्षेत्रमा योगदान पु¥याएका १० जना व्यक्तित्वलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गर्ने तयारी गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।







