मकवानपुरमा प्रत्यक्षतर्फ बदर मत बढ्यो
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर जिल्लामा प्रत्यक्षतर्फ बदर मतको प्रतिशत अघिल्लो निर्वाचनको तुलनामा बढेको देखिएको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रत्यक्षतर्फ खसेको कुल १ लाख ८६ हजार ९ सय ५९ मतमध्ये ५.६८ प्रतिशत अर्थात् १० हजार ६ सय १५ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
सबैभन्दा धेरै निर्वाचन क्षेत्र नम्बर–२ को बदर भएको देखिएको छ । क्षेत्र नम्बर दुईमा खसेको ९१ हजार १ सय १६ मतमध्ये ६.३ प्रतिशत अर्थात् ५ हजार ४ सय ९७ मत बदर भएको प्रदेश निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो । क्षेत्र नम्बर–२ मा बदर मत संख्या र प्रतिशत दुवै हिसाबले अघिल्लो निर्वाचनभन्दा बढेको छ ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर–१ मा कुल खसेको ९५ हजार ८ सय ४३ मतमध्ये ४.३४ प्रतिशत अर्थात् ५ हजार १ सय १८ मत बदर भएको छ ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनको तुलनामा यस पटक मकवानपुरमा प्रत्यक्षतर्फ बदर मतको प्रतिशत बढेको देखिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
एकै मतपत्रमा एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गर्नु, मत संकेत नै नगर्नु, औँठा छापको प्रयोग गर्नु बदर मत बढ्नुको मुख्य कारण रहेको प्रदेश निर्वाचन अधिकारी हरी ढकालले बताउनुभयो ।
प्रत्येक वडामा मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिए पनि बदर मत बढ्नु दुःखद भएको उहाँले बताउनुभयो ।
यता, समानुपातिकतर्फ भने बदर मतको प्रतिशत कम रहेको छ । मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ खसेको कुल १ लाख ८८ हजार २ सय ६६ मतमध्ये ३.९६ प्रतिशत अर्थात् ७ हजार ४ सय ५७ मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुर–१ मा ९३ हजार ७१ मत सदर हुँदा ३ हजार ३ सय ८७ मत अर्थात् ३.५१ प्रतिशत बदर भएको छ । मकवानपुर–२ मा खसेको ९१ हजार ८ सय ८ मतमध्ये ४ हजार ७० मत अर्थात् ४.४३ प्रतिशत मत बदर भएको छ ।
प्रत्यक्षतर्फको तुलनामा समानुपातिकतर्फ बदर मत कम रहेको प्रदेश निर्वाचन अधिकारी ढकालले बताउनुभयो । साथै, २०७९ सालको निर्वाचनको तुलनामा यसपटक समानुपातिकतर्फ बदर मत घटेको पनि उहाँले जानकारी दिनुभया ।
२०७९ सालको निर्वाचनमा मकवानपुर–१ मा ६.९३ प्रतिशत र मकवानपुर–२ मा ४.८५ प्रतिशत मत बदर भएको थियो ।







