मकवानपुरमा शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न भएको निष्कर्ष 

छहारी संवाददाता
फाल्गुन २७, २०८२

प्रतिनिधि सभा निर्वाचन २०८२ मकवानपुरमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ ।

दुबै निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिक दुबै तर्फको अन्तिम मत परिणाम आएसँगै प्रदेश निर्वाचन कार्यालयले निर्वाचन समिक्षा कार्यक्रा आयोजना गरेको हो । जिल्ला प्रशासन कार्यालयको सभाहलमा बुधबार आयोजित समिक्षा कार्यक्रममा बोल्ने अधिकांशले सबै पक्षको समन्वय, सहयोग र आचारसंहिताको पालना भएका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, कर्मचारी तथा सुरक्षा निकायको सक्रिय सहयोगका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभयो ।

उहाँले राजनीतिक दलहरूले आचारसंहिताको पालना गरेको, सञ्चारकर्मीहरूले सन्तुलित रूपमा समाचार सम्प्रेषण गरेको तथा कर्मचारी र सुरक्षा निकायले जिम्मेवारीपूर्वक काम गरेको कारण निर्वाचन मितव्ययी र व्यवस्थित रूपमा सम्पन्न भएको उल्लेख गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृत श्रेष्ठले विशेषगरी राजनीतिक दलहरूबीच कायम भएको सद्भाव र सहकार्यप्रति सम्मान व्यक्त गर्दै यसले निर्वाचन व्यवस्थापनलाई थप सहज बनाएको बताउनुभयो ।

निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले मकवानपुरमा सम्पन्न निर्वाचन अन्य जिल्लाका लागि अनुकरणीय उदाहरण बनेको बताउनुभयो ।

सुरुमा केही स्थानमा आचारसंहिता उल्लंघनका घटना देखिए पनि अन्तिम समयमा सबैले आचारसंहिताको पालना गरेको कारण निर्वाचन व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।

उहाँका अनुसार राजनीतिक दल, दलका प्रतिनिधि तथा उम्मेदवारहरूले सौहार्दपूर्ण वातावरण निर्माण गरेकाले निर्वाचन व्यवस्थापनमा अपेक्षाभन्दा बढी सहयोग प्राप्त भएको थियो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएदेखि मत परिणाम सार्वजनिक हुँदासम्म सबै पक्षबाट अतुलनीय साथ र सहयोग प्राप्त भएको बताउनुभयो ।

छोटो समयका बाबजुद पनि सबै निकायको समन्वय र सकारात्मक सहयोगका कारण निर्वाचन भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी, अधिकारीले आगामी दिनमा मतदान प्रक्रियालाई अझ सहज बनाउन डिजिटल मतदान प्रणालीतर्फ जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अहिले पनि पुरानै शैलीमा मतदान गर्दा प्रक्रिया झन्झटिलो हुने भएकाले प्रविधिमैत्री निर्वाचन प्रणाली आवश्यक रहेको उहाँको धारणा थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्था महासंघ, नागरिक समाज, उम्मेदवार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन सुझावसमेत दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*