मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु

छहारी संवाददाता
फाल्गुन २५, २०८२

बागमती प्रदेश सरकारअन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गरिएको छ ।

चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति पाएपछि प्रतिष्ठानले यसै शैक्षिक वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालनमा ल्याएको हो । सोमबार नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दे बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका पालिकास्तरमा बनेका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको बताउँदै त्यस्तो अभाव पूर्ति गर्न एमबीबीएस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री थापाले राज्यले नागरिकलाई व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउनु संवैधानिक दायित्व भएको उल्लेख गर्दै हेटौंडा अस्पताल लगायत प्रादेशिक अस्पतालको सेवा–सुविधा हरेक वर्ष विस्तार गरिँदै लगिएको बताउनुभयो ।

जिल्ला अस्पतालका रूपमा रहँदा र प्रतिष्ठान मातहत आउँदा हेटौंडा अस्पतालमा धेरै फरक आएको मन्त्री थापाले दाबी गर्नुभयो । हाल मकवानपुरसहित मधेस प्रदेशका पाँच जिल्लाका बिरामीसमेत उपचारका लागि हेटौंडा आउने गरेको उहाँले बताउनुभयो ।

उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी अन्य प्रतिष्ठानका भन्दा अब्बल चिकित्सकका रूपमा निस्कने अपेक्षा समेत जनाउनुभयो । हेटौंडालाई स्वास्थ्य क्षेत्रको शैक्षिक हबका रूपमा विकास गर्दै लैजाने प्रदेश सरकारको लक्ष्य रहेको मन्त्री थापाले बताउनुभयो ।

प्रतिष्ठानका संस्थापक कुलपति एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले प्रतिष्ठान स्थापना गर्न निकै ठूलो संघर्ष भएको स्मरण गर्दै विद्यार्थीहरूलाई अनुशासित ढंगले अध्ययन गर्न आग्रह गर्नुभयो ।

उहाँले विद्यार्थीलाई पढाइमा मात्रै केन्द्रित रहन आग्रह गर्नुभयो । अन्य किसिमका चलखेल नगर्न विद्यार्थीलाई सचेत समेत गराउनुभयो । अन्य प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्ने नभई अन्य प्रतिष्ठानले मदन भण्डारीसँग प्रतिस्पर्धा गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

पूर्व मुख्यमन्त्री पौडेलले प्रतिष्ठानलाई विद्यार्थीहरूको पहिलो रोजाइ बन्ने गरी शैक्षिक गतिविधि सञ्चालन गर्ने लक्ष्य रहेको पनि बताउनुभयो । प्रतिष्ठान हेटौंडाको मात्र नभई समग्र प्रदेशको साझा गौरवका रूपमा विकास हुँदै जाने उहाँको अपेक्षा छ ।

हाल प्रतिष्ठानका विभिन्न कार्यक्रमहरू हेटौंडाको गौरिटार, हेटौंडा–११ स्थित नलेज भिलेज, हुप्रचौर र कमानेमा सञ्चालन भइरहेका छन् ।

छरिएर रहेका कार्यक्रमलाई एउटै भवनबाट सञ्चालन गर्न प्रदेश सरकारको १२ करोड लगानीमा भवन निर्माण गर्न लागिएको उपकुलपति प्रदीप ज्ञवालीले बताउनुभयो ।

प्रतिष्ठानमा हाल एमबीबीएससहित बीएससी नर्सिङ, ब्याचलर अफ फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ विषयमा अध्ययन भइरहेको छ । साथै सात विषयमा एमडी कार्यक्रम सञ्चालनमा रहेको छ । यस वर्ष एमडी कार्यक्रमका लागि ९ विषय थप गरिएको छ भने सिट संख्या ८ बाट बढाएर २७ पु¥याइएको छ ।

वि.सं. २०७६ असोज २ गते ऐन पारित भएपछि स्थापना भएको प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, अनुसन्धान र दक्ष चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतिष्ठानमा ४ विदेशी सहित ४६ जना विद्यार्थी एमबीबीएस कार्यक्रममा भर्ना भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*