प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरका ३५ जना उम्मेदवारको धरौटी जफत
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका मकवानपुरका ३४ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर १ का १८ जना र क्षेत्र नम्बर २ का १६ जना उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा धरौटी जफत भएको हो ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर एकबाट निर्वाचित हुनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहको पनि धरौटी जफत भएको छ ।
अघिल्लो निर्वाचनमा २७ हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुनु भएका सिंहले फागुन २१ को निर्वाचनमा भने ४ हजार ७ सय ७५ मत मात्रै प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा १३ राजनीतिक दल र १० स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा विजयी उम्मेदवारसहित पाँच जनाले मात्रै आफ्नो धरौटी जोगाएका छन् ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम विजयी हुनुभएको थियो ।
धरौटी जोगाउने अन्य उम्मेदवारहरूमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना, नेकपा एमालेका रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा रहेका छन् ।
यस क्षेत्रका ११ जना उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन्। मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा कुल ९५ हजार ३ सय १० मत खसेको थियो। त्यसमध्ये ९० हजार ७ सय २५ मत सदर भएको थियो ।
त्यस्तै मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा कुल ९१ हजार २ सय ४१ मत खसेकोमा ८५ हजार ६ सय १९ मत सदर भएको थियो । यस क्षेत्रमा १६ राजनीतिक दल र ५ स्वतन्त्र गरी २१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती, नेपाली कांग्रेसका बुद्ध लामा, नेकपा एमालेका महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टीका लवशेर विष्टले जोगाएका छन् ।
यस क्षेत्रबाट रास्वपाका उप्रेती विजयी भएका थिए । कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ ।
उम्मेदवारी दर्ता गर्दा बुझाएको १० हजार रुपैयाँ राज्यकोषमा जाने व्यवस्था छ ।







