मकवानपुर–२ मा मनहरी र थाहा क्षेत्रको मतगणना सकिँदा रास्वपाको अग्रता कायम
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा पर्ने मनहरी गाउँपालिका र थाहा नगरपालिकाका सबै वडाको मतगणना सकिँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम राखेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार थाहा नगरपालिका र मनहरी गाउँपालिकाको गरी कुल ३६ हजार ८ सय ७० मत गणना सम्पन्न हुँदा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती १३ हजार १ सय ८६ मतसहित अग्रस्थानमा रहनुभएको छ ।
मतगणनाको प्रारम्भदेखि नै रास्वपाले निरन्तर अग्रता कायम राख्दै बलियो स्थिति बनाएको छ । हालसम्मको मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार लवशेर विष्टले ६ हजार ८ सय ७ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले ६ हजार ५ सय ३९ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले ५ हजार ३ सय ७७ मत प्राप्त गर्नुभएको छ ।
यी दुई पालिकामा गरी २ हजार २ सय ३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा कुल ९१ हजार २ सय ४१ मत खसेको थियो ।







