मकवानपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपा दोब्बर मतले अगाडी
मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले दोब्बर मतान्तरसहित अग्रता लिएका छ्न ।
निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतम १९ हजार २ सय ३५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का रमेश्वर राना ३ हजार ९ सय ९९ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ।
त्यस्तै नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ३ हजार ४ सय ९५ मत प्राप्त गर्नुभएको छ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले २ हजार ३ सय ७६ मत पाउनुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका विजय गौतमले १ हजार १ सय ६१ मत प्राप्त गर्नुभएको छ। यो समाचार तयार पार्दासम्म मकवानपुर क्षेत्र नम्बर–१ मा २९ हजार मत गणना भइसकेको छ। यस क्षेत्रमा कुल ९५ हजार ३ सय मत खसेको थियो।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा पनि रास्वपाले अग्रता कायम राखेको छ। रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले ११ हजार ९ सय ३३ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बर्तौलाले ५ हजार ७ सय ८७ मत पाउनुभएको छ।
त्यस्तै नेकपाका लवशेर बिष्टले ५ हजार ६ सय ४३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बुद्ध लामाले ५ हजार २९ मत पाउनुभएको छ। हालसम्म यस क्षेत्रमा ३३ हजार ८२ मत गणना भइसकेको छ। यहाँ कुल ९१ हजार २ सय मत खसेको थियो।







