मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी

छहारी संवाददाता
फाल्गुन २२, २०८२

मकवानपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत दुबै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ।

हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको हो । निर्वाचन क्षेत्र नं. १ अन्तर्गत हेटौंडा –२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका छ वटा मतदान केन्द्रबाट प्राप्त मतको गणना सुरु गरिएको छ। क्षेत्रम नम्बर एकमा कुल ९५ हजार ३ सय १० मत खसेको छ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा मनहरी गाउँपालिका–९ स्थित ऋषेश्वर बालजागृति आधारभूत विद्यालय, माथिल्लो ज्यामिरेको मतदानस्थलबाट मतगणना सुरु गरिएको छ। उक्त केन्द्रमा चार वटा मतदान केन्द्र रहेका छन्। यस क्षेत्रमा कुल ९१ हजार २ सय ४१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार निर्वाचन क्षेत्र नं. १ को मतगणना विद्यालयको ‘ए’ ब्लक भवनमा तथा क्षेत्र नं. २ को मतगणना ‘बी’ ब्लक भवनमा भइरहेको छ।

बिहीबार सम्पन्न मतदानमा मकवानपुरमा करिब ५९ प्रतिशत मत खसेको थियो। जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेकामा १ लाख ८६ हजार ५५१ मत खसेको हो।

निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना, नेकपा एमालेका रामेश्वर राना, नेपाल कम्युनिष्ट पार्टीका विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम, राप्रपाका निवर्तमान प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह लगायत दलका १३ जना तथा स्वतन्त्र १० जना गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका बुद्ध लामा, नेकपा एमालेका निवर्तमान सांसद महेश बर्तौला, नेपाल कम्युनिष्ट पार्टीका लवशेर बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती लगायत दलका १६ जना तथा स्वतन्त्र ५ जना गरी २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि कुल ४४ जना उम्मेदवार मैदानमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*