वर्तमान सरकारको मन्त्रीमण्डल रास्वपाले कब्जा गरेको विप्लवको आरोप
नेकपा (माओवादी) का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको मन्त्रीमण्डल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कब्जा गरेको आरोप लगाउनुभएको छ ।
एनजिओमा काम गर्ने व्यक्तिहरुलाई समावेश गरेर सरकार गठन भएको उहाँको धारणा छ । बिहिबार हेटौंडामा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नुहुँदै महासचिव विप्लवले आफु अनुकुल नियम कानुन बनाएर मन्त्री पदबाट राजीनामा दिएर रास्वपाबाट चुनाव लड्न गएको आरोप पनि लगाउनुभयो । अहिले मन्त्रीमण्डलमा भएका मन्त्रीहरु नै निष्पक्ष नभएको र रास्वपालाई चुनावमा सहयोग गर्ने मनसायमा रहेको समेत उहाँले टिप्पणी गर्नुभयो ।
महासचिव विप्लवले सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने ठोकुवा पनि गर्नुभयो । चुनाव गराउने आधार र अधिकार समेत वर्तमान सरकारलाई नभएको उहाँले जिकिर गर्नुभयो । महासचिव विप्लवले प्रधानमन्त्री कार्कीलाई संविधानको कुन धारा अनुसार र कसको स्वीकृतिमा प्रधानमन्त्री बनेको भन्दै प्रश्न गर्नुभयो ।
महासचिव विप्लवले नेपाललाई विदेशी राष्ट्रहरुले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजिरहेको बताउनुभयो । देशलाई निकास दिने उद्देश्य सरकारको नरहेको उहाँको भनाई छ । महासचिव विप्लवले राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गर्ने साम्राज्यवादीको विरुद्धमा संघर्ष गर्नुपर्ने बताउनुभयो ।
ठुला–ठुला षड्यन्त्र मार्फत चुनावलाई निष्पक्ष हुन नदिने खेल काठमाडौँमा चलिरहेको समेत उहाँले उल्लेख गर्नुभयो । महासचिव विप्लवले चुनावी मोर्चाबाट आफ्नो पार्टी नहट्ने पनि दोहो¥याउनु भयो । गणतन्त्रको १८ वर्षको अवधिमा जनताप्रति समर्पित दलहरुलाई आगामी चुनावमा जिताउन पनि उहाँले आह्वान गर्नुभयो ।
महासचिव विप्लवले फागुन २१ गतेको चुनाव जेनजी आन्दोलनको मर्म विपरीत हुन लागेको बताउनुभयो । राज्य पुर्नसंरचना, संविधान संशोधन, भ्रष्टचार अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुने गरी चुनाव हुनुपर्ने उहाँको धारणा छ । महासचिव विप्लवले जेनजी पुस्ताको माग चुनाव मात्र नभएको बताउनुभयो ।
महासचिव विप्लवले राष्ट्रिय स्वाधिनताको पक्ष र भ्रष्टचारको विरुद्धमा नेकपा माओवादी बाहेक अरु कुनै पनि पार्टी सडकमा नरहेको दाबी समेत गर्नुभयो ।
कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार महेश नेपाल, क्षेत्र नं. २ का उम्मेदवार राम घलान वाटर लगायतको उपस्थिति रहेको थियो ।







