मकवानपुरका १३ उम्मेदवारले निर्वाचन खर्च र त्यसको स्रोत खुलाएनन्

छहारी संवाददाता
माघ २६, २०८२

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुरका ४४ उम्मेदवार मध्ये १३ जनाले निर्वाचन खर्च र त्यसको स्रोत नखुलाएको पाइएको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको मकवानपुरमा निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ वटा राजनीतिक दल र ४ जना स्वतन्त्र उम्मेदवारले मनोनयनका क्रममा खर्चको अनुमानित रकम तथा त्यसको स्रोत खुलाएका छैनन् । क्षेत्र नम्बर २ का २१ जना उम्मेदवारमध्ये नेकपा एमालेका उम्मेदवार महेश वर्तौलाले खर्चको अनुमानित रकम खुलाए पनि त्यसको स्रोत खुलाउनुभएको छैन ।

त्यस्तै, क्षेत्र नम्बर १ का २३ जना उम्मेदवारमध्ये ४ राजनीतिक दल र ३ स्वतन्त्र गरी ७ जना उम्मेदवारले खर्चको अनुमानित रकम र स्रोत दुवै नखुलाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ की नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम र प्रगतिशील पार्टीका उम्मेदवार तेजप्रसाद उप्रेतीले खर्चको अनुमानित रकम र स्रोत दुवै उल्लेख गरेका छैनन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार ज्ञानसागर लामा, मठु पुलामी मगर र टिका प्रसाद चौलागाईंले पनि नखुलाएको पाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंह, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ, नेमकिपाकी रञ्जना सुवाल र जसपा नेपालका रुपक लामाले खर्चको स्रोत खुलाए पनि अनुमानित खर्च रकम भने उल्लेख नगरेको जनाइएको छ। ।

स्वतन्त्र उम्मेदवार राजकुमार खड्काले पनि अनुमानित खर्च रकम खुलाउनुभएको छैन । मकवानपुर जिल्लामा उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

खर्चको अनुमानित रकम र स्रोत कानुन बमोजिम अनिवार्य रूपमा खुलाउनुपर्ने अनुगमन अधिकृत दिनेश रेग्मीले बताउनुभयो । साथै निर्वाचनका लागि उम्मेदवारले बैंकमा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था भए पनि सबै उम्मेदवारले खाता नखोलेको उहाँले बताउनुभयो ।

खर्चको अनुमानित रकम र स्रोत नखुलाएमा आचारसंहिता उल्लङ्घन गरेको मानिने निर्वाचन आयोगले जनाएको छ । यसैगरी, मकवानपुर जिल्लामा पछिल्लो २० दिनको अवधिमा आचारसंहिता उल्लङ्घन न्यून भए पनि केही उल्लङ्घनका घटना देखिएको आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।

सार्वजनिक स्थलमा दलका झण्डा राखिएको, सरकारी सवारी साधन प्रयोग गरिएको तथा प्रचारप्रसारका लागि तोकिएको समयसीमा पालना नगरेको पाइएको उहाँले जानकारी दिनुभयो ।

आयोगले उम्मेदवारलाई फागुन ३ गतेसम्म घरदैलो तथा व्यक्तिगत भेटघाटमा मात्र सीमित रहन अनुरोध समेत गरेको छ । आचारसंहिता उल्लङ्घन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना तथा उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने व्यवस्था रहेको बताइएको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हरि ढकाल, क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवेन्द्र आचार्य, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, दुवै निर्वाचन क्षेत्रका उम्मेदवार, उम्मेदवारका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*