दलहरु आन्तरिक तयारीमा व्यस्त हुँदा प्रदेशसभा बैठक बस्न ढिलाईः उपसभामुख चापागाई

छहारी संवाददाता
माघ १५, २०८२

बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले दलहरु आन्तरिक तयारीमा व्यस्त हुँदा प्रदेशसभा बैठक बस्न नसकेको बताउनुभएको छ ।

प्रदेशसभाको आठौं वार्षिकोत्सवको अवसरमा बुधबार प्रदेशसभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सचिवालयको तयारी पुरा भएपनि दलहरुको आन्तरिक तयार नपुग्दा बैठक बस्न ढिलाई भएको बताउनुभयो ।

उपसभामुख चापागाईले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया पनि अगाडि बढिसकेकोले त्यसतर्फ सरकारको काम कारवाही केन्द्रित हुँदा पनि प्रदेशसभा बैठक तुलनात्मक रुपले केही बिलम्ब भएको बताउनुभयो ।
रिक्त रहेको सभामुखको पद पूर्तिको लागि राजनीतिक दलहरुसंग छलफल भइरहेको उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीचको एकता पश्चात् दलहरुबीच छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो । उपसभामुख चापागाईले हिउँदे अधिवेशन छिटो आह्वान गर्न सचिवालय सरकारसंग निरन्तर छलफलमा रहेको समेत बताउनुभयो ।

उपसभामुख चापगाईले प्रदेशसभा सदस्यहरुको भुमिका कमजोर हुँदा संघीयता प्रति नै वितृष्णा पैदा हुने बताउनुभयो । सही कानुन बनाउन प्रदेशसभा सदस्यहरुले पनि आफ्नो भुमिकालाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाई छ । विधेयकहरुलाई विषयगत समितिमा सुक्ष्म ढंगले छलफल चलाउने गरेको उहाँले बताउनुभयो ।

उपसभामुख चापागाईले प्रदेश राजधानी बाहेक अन्य ठाउँमा पनि सरोकारवाला व्यक्ति, विज्ञहरुको उपस्थितिमा पनि विधेयकको बारे छलफल गराउने गरेको पनि उल्लेख गर्नुभयो । विधेयक निर्माणमा प्रदेशसभा सदस्यहरुले पर्याप्त ध्यान दिन नसकेको महसुस सचिवालयलाई पनि भएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रदेशसभाका सचिव रामकुमार पौडेलले हिउँदे अधिवेशनमा बिजनेशको कमी नहुने बताउनुभएको छ । उहाँका अनुसार हाल चिठ्ठा विधेयक र चलचित्र सम्बन्धी विधेयक विचाराधीन अवस्थामा रहेको छ ।

सचिव पौडेलले सचिवालयमा खानेपानी तथा सरसफाई सम्बन्धी विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक दर्ता भएको जानकारी दिनुभयो । वन सम्बन्धी दुई विधेयक पनि सचिवालयमा आउने चरणमा रहेको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले प्रदेशसभाले हालसम्म गरेको गतिविधि बारे जानकारी गराउनुभएको थियो । उहाँका अनुसार प्रदेशसभाबाट पारित भएका ९० वटा कानुन मध्ये ८९ वटा कानुन प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रदेशसभामा ३२ करोड ५४ लाख बराबरको भौतिक क्षति भएको उहाँले जानकारी दिनुभयो । प्रदेशसभा सचिवालय यही माघ १८ गते प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा आठौँ वार्षिकोत्सव मनाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*