जुनसुकै घटनाको आधिकारिक पुष्टि प्रहरीबाट मात्रै हुन्छः मकवानपुर प्रहरी प्रमुख खत्री

छहारी संवाददाता
माघ १५, २०८२

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले शान्ति सुरक्षा कायम गर्नु र सत्य–तथ्य सूचना प्रवाह गर्नु नेपाल प्रहरीको मुख्य दायित्व भएको बताउनुभएको छ ।

मकवानपुर जिल्लाको प्रहरी प्रमुखका रूपमा हालै जिम्मेवारी सम्हाल्नुभएका उहाँले बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कुनै पनि घटनासम्बन्धी आधिकारिक पुष्टि नेपाल प्रहरीबाट मात्रै हुने भएकाले सञ्चारकर्मीलाई तथ्यपरक र आधिकारिक सूचना प्रयोग गर्न आग्रह गर्नुभयो ।

मकवानपुरमा लागूऔषध दुव्र्यसनी बढ्दै गएको देखिएको बताउँदै आफूले जिम्मेवारी सम्हालेको ६ दिनभित्र १२ जनालाई पक्राउ गरी मुद्दा दायर गरिएको उहाँले बताउनुभयो । यसैगरी फरार रहेका ११ जना अपराधीलाई पक्राउ गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

भन्सार छलि गरी ल्याइएका करिब १ लाख ५० हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको, ५ कठ्ठा अफिम खेती फडानी गरिएको तथा ११ कठ्ठा गाँजा नष्ट गरिएको प्रमुख खत्रीले बताउनुभयो । जनशक्ति अभावकै कारण गाँजा तथा अफिम फडानी अभियानमा चुनौती रहेको उहाँको भनाइ छ ।

प्रमुख खत्रीले ओभर लोड बोक्ने सवारी कार्वाही गरिएको समेत बताउनुभयो । साथै सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु बोकेको पाइएमा कारबाही गर्ने उहाँले बताउनुभयो ।

प्रमुख खत्रीले जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न, फागुन २१ गतेकोृ निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो । उहाँले सञ्चारकर्मीले उठाएका विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरी आवश्यक कारबाही गरिने प्रतिबद्धता समेत जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*