जन्मदिनमा बहिरा तथा सुस्त श्रवण विद्यालयलाई टेलिभिजन सहयोग

छहारी संवाददाता
माघ १४, २०८२

हेटौंडा–५ सानोपोखरा घर भई हाल न्युजल्याण्ड निवासी श्रेया श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्व निभाउँदै बहिरा बालबालिकाका लागि टेलिभिजन सहयोग गर्नुभएको छ ।

श्रेष्ठले हेटौंडा–६ स्थित श्री शान्ति बहिरा तथा सुस्त श्रवण आवासीय आधारभूत विद्यालयका विद्यार्थीहरूको पठनपाठन सहयोग तथा मनोरञ्जनका लागि ३२ इन्चको स्मार्ट टेलिभिजन उपलब्ध गराउनुभएकोे हो ।

उक्त टेलिभिजन सेट बाल क्लबका अध्यक्ष सबिना जिम्बा र विद्यालयकी प्रधानाध्यापक शर्मिला खतिवडालाई श्रेयाका बुबा ईश्वर श्रेष्ठ र आमा सुस्मा श्रेष्ठले हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।

आवासीय रूपमा बस्दै आएका बहिरा विद्यार्थीहरूका लागि शैक्षिक सामग्री, संकेत भाषामा आधारित कार्यक्रम तथा जानकारीमूलक भिडियो हेर्न टेलिभिजन उपयोगी हुने विद्यालयको भनाइ छ ।

टेलिभिजन हस्तान्तरण कार्यक्रमम उपस्थित हुनुभएको हेटौंडा स्थित संगम आर्टस्का प्रोपाइटर कृष्ण श्रेष्ठले विद्यालयलाई आवश्यक ब्यानर, बिल तथा छपाइ सम्बन्धी सम्पूर्ण कामहरू निशुल्क गरिदिने बताउनुभयो ।

शान्ति बहिरा तथा सुस्त श्रवण आवासीय विद्यालयमा मकजानपुर सहित विभिन्न जिल्लाका ४० जना बहिरा तथा सुस्त श्रवण भएका विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*