राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारहरू निर्वाचित

छहारी संवाददाता
माघ १२, २०८२

राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

महिलातर्फ नेपाली कांग्रेसकी गीता देवकोटा र अन्य समूहबाट नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुनुभएको हो । महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभातर्फ ६० मतसहित ३ हजार १८० मतभार प्राप्त गर्नुभयो भने स्थानीय तहतर्फ १६१ मतसहित ३ हजार ०५९ मतभार पाउनुभयो । उहाँले कुल ६ हजार २ सय ३९ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मतसहित ३ हजार १ सय २७ मतभार प्राप्त गर्नुभयो । स्थानीय तहतर्फ १ सय ६२ मतसहित ३ हजार ०७८ मतभार पाउँदै उहाँले कुल ६ हजार २०५ मतभार हासिल गर्नुभएको छ ।

महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५ सय २२ मतभार प्राप्त गर्नुभयो भने नेमकिपाकी कविता महर्जनले १ सय ९७ मतभार पाउनुभया । अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५ सय ४१ मतभार प्राप्त गर्नुभयो भने नेमकिपाका विक्रम ढुकुक्षुले १ सय ९७ मतभार पाउनुभयो ।

निर्वाचनमा प्रदेश सभातर्फ ३ र स्थानीयतह तर्फ ४ मत बदर भएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । निर्वाचनमा बागमती प्रदेशसभाका ८९ जना प्रदेशसभा सदस्य र स्थानीय तहका २ सय २९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय १८ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

प्रदेश सभातर्फ ४ हजार ७ सय १७ मतभार र स्थानीय तहतर्फ ४ हजार ३ सय ५१ मतभार खसेको थियो । कुल ९ हजार ०६८ मतभार खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा २० जना मतदाता अनुपस्थित रहे । अनुपस्थितमध्ये १५ जना प्रदेशसभा सदस्य र ५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन् ।

राप्रपा र हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान प्रक्रियामा सहभागिता जनाएनन् । नेकपाकी रमा आले मगर स्वास्थ्य उपचारका सिलसिलामा भारतमा रहेकाले मतदान गर्न आउन सक्नुभएन ।

स्थानीय तहतर्फ दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी, दोलखा बिगु गाउँपालिकाका अध्यक्ष सञ्जिव वली  शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, ललितपुर महानगरपालिकाकी उपप्रमुख मुना अधिकारी र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाकी अध्यक्ष अप्सरा लम्साल अनुपस्थित रहेका थिए ।

यसैबीच, इच्छाकामना गाउँपालिकाकी उपप्रमुख माया सिलवाल काजकिरियामै रहेर पनि मतदानमा सहभागी हुनुभएको छ । उहाँका श्रीमानको चार दिनअघि निधन भएको थियो ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा महिलातर्फ १ र अन्यतर्फ १ गरी दुई पदका लागि मतदान भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*