मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
हेटौंडा–११ स्थित प्रादेशिक तरकारी थोक बजारको नव–निर्मित भवनमा प्रतिनिधि सभा क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ मुख्य निर्वाचन अधिकृतको कार्यालय र २ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन कार्य सम्पादन गर्नको लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधिश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायधिवक्ता देवेन्द्रराज आचार्यलाई नियुक्त गरिएको छ ।
प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारील, सुरक्षा निकायका प्रमुख, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले मुलुक निर्वाचनको माहोलमा प्रवेश गरिसकेको उल्लेख गर्दै निर्वाचन सफल बनाउनुको विकल्प नरहेको बताउनुभयो । प्रमुख सचिव अधिकारीले दृशको राजनीतिलाई सही दिशामा लैजान निर्वाचन अपरिहार्य रहेको धारणा राख्नुभयो ।
त्यस्तै, मुख्य निर्वाचन अधिकृत श्रेष्ठले विषम परिस्थितिमा निर्वाचन सफल बनाउन सबै निकाय र सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले मिस–इन्फर्मेसन र डिस–इन्फर्मेसनबाट जोगिन आग्रह गर्नुभयो ।
निर्वाचनसँग सम्बन्धित सूचना प्रवाह, शान्ति–सुरक्षा लगायतका विषयमा सत्यतथ्य र जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।
प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल १ सय ६७ मतदान स्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र रहेका छन्।
मतदाता विवरणअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्। जिल्लाभर कुल मतदातामध्ये महिला १ लाख ५३ हजार ३७६, पुरुष १ लाख ६१ हजार ९५३ तथा अन्य ५ जना रहेका छन् ।






