मकवानपुर जिल्लाका १९ मतदान स्थल अति संवेदनशील  

छहारी संवाददाता
माघ ३, २०८२

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लाका १९ मतदान स्थललाई अति संवेदनशील सूचिमा राखिएको छ ।

सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका हुन् ।

जिल्लाभर रहेका कुल १ सय ६७ मतदान स्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा २६ मतदान केन्द्र रहेका छन् ।
सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदान स्थल र ७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् ।

त्यस्तै, राक्सिराङ गाउँपालिकामा ६ मतदान स्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदान स्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदान स्थल र १ मतदान केन्द्र अति संवेदनशील मानिएको छ ।

यसैगरी, जिल्लामा ६० मतदान स्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् ।

संवेदनशील मतदान स्थलहरूमा हेटौंडा उपमहानगरपालिकाका ७ मतदान स्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदान स्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदान स्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदान स्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन् ।

त्यसैगरी, मकवानपुरगढी गाउँपालिकाका ४ मतदान स्थल र ७ मतदान केन्द्र, इन्द्रसरोवर गाउँपालिकाका २ मतदान स्थल र २ मतदान केन्द्र, भीमफेदी गाउँपालिकाका ४ मतदान स्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिकाका ३ मतदान स्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउँपालिकाका ३ मतदान स्थल र ८ मतदान केन्द्र पनि संवेदनशील सूचीमा परेका छन् ।

प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल १ सय ६७ मतदान स्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १ सय ७८ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर २ मा १ सय ५ मतदान स्थल र १ सय ९६ मतदान केन्द्र रहेका छन् ।

मतदाता विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४ सय ३५ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८ सय ९९ मतदाता रहेका छन् ।

जिल्लाभर कुल मतदातामध्ये महिला एक लाख ५३ हजार ३ सय ७६, पुरुष एक लाख ६१ हजार ९ सय ५३ र अन्य ५ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*