मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एनेस्थेसिया टेक्निसियन तालिमको तेस्रो ब्याच सुरु
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालन गरिएको एक वर्षे एनेस्थेसिया टेक्निसियन तालिम कार्यक्रमको तेस्रो ब्याच सुरु भएको छ ।
हेटौंडा अस्पतालको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा दोस्रो ब्याचका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण तथा तेस्रो ब्याचको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गर्दै प्रदेश सरकारले प्रतिष्ठानको शैक्षिक तथा संस्थागत विकासमा निरन्तर सहयोग गरिरहेको बताउनुभयो ।
बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको प्रतिष्ठानले शैक्षिक गतिविधिसँगै स्वास्थ्य सेवामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो ।
मन्त्री थापाका अनुसार स्वास्थ्य मन्त्रालयको कुल चार अर्ब रुपैयाँ बजेटमध्ये ३७ करोड रुपैयाँ प्रतिष्ठान र हेटौंडा अस्पतालका शैक्षिक कार्यक्रम सञ्चालन, जनशक्ति व्यवस्थापन तथा भौतिक पूर्वाधार सुधारका लागि विनियोजन गरिएको छ ।
हाल भाडाका घरमा सञ्चालन भइरहेको प्रतिष्ठानका शैक्षिक गतिविधिलाई एउटै भवनबाट सञ्चालन गर्न १२ करोड रुपैयाँको लागतमा प्रि–फ्याब भवन निर्माण प्रक्रिया अघि बढाइएको र चार महिनाभित्र निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।
यस्तै, हेटौंडा अस्पतालको नव–निर्मित भवनका लागि आवश्यक उपकरण खरिद गर्न थप १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावका कारण आधारभूत अस्पताल सञ्चालनमा चुनौती रहेको उल्लेख गर्दै मन्त्री थापाले प्रतिष्ठानबाट उत्पादन हुने जनशक्ति स्थानीय तहका अस्पतालमा उपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका उपकुलपति प्रदीप ज्ञवालीले एक वर्षे एनेस्थेसिया टेक्निसियन तालिमलाई सरकारले कानुनी मान्यता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट एकेडेमिक मान्यता प्राप्त भए सातै प्रदेशमा कार्यक्रम विस्तार हुने उहाँको भनाइ थियो ।
दुरदराजका अस्पतालमा सेवा दिन सक्ने जनशक्ति उत्पादन गर्नु प्रतिष्ठानको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो । तेस्रो ब्याचका लागि १५ जनाले आवेदन दिएकोमा पाँच जना छनोट भएका छन् ।
छनोट हुनेमा सिकेन्द्र कुमार यादव (महोत्तरी), पप्पु कुमार (बारा), राजेश चन्द्र शाह (रौतहट), कास लामा तामाङ र रोशनी थिङ (हेटौंडा) रहेका छन् । यसअघि तालिमको पहिलो ब्याचमा चार जना र दोस्रो ब्याचमा पाँच जना प्रशिक्षार्थी सहभागी भएका थिए ।
स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्र झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष दिनेश कुमार लम्साल, हेटौंडा अस्पतालका रजिष्ट्रार भीमसागर गुरागाईं, अस्पतालका निर्देशक रामचन्द्र सापकोटा, नेपाल चिकित्सक संघ मकवानपुरका अध्यक्ष हरि बहादुर खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।






